arrow

उपेन्द्र बहुमतमा

उपेन्द्रसँग नजिकिए राजेन्द्र, ठाकुरको साथ छाडेको सङ्केत

उपेन्द्र बहुमतमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
janata-samajwadi-party.jpg
तस्बिर : फाइल

काठमाडौँ। जनता समाजवादी पार्टीभित्रको विवादमा महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले अन्ततः ठाकुरको साथ छाडेको सङ्केत देखिएको छ। महतोले ठाकुरको साथ छाडेको सङ्केतसँगै जसपा भित्र नयाँ समीकरण बनेको चर्चा सुरु भएको छ । नयाँ  समीकरणमा उपेन्द्र यादव बहुमतमा देखिएका छन् । 

महतो अहिले उपेन्द्र यादवसँग संवाद र छलफलमा जुटेका छन् । महतो निकट जसपाका नेता तथा कार्यकारिणी समितिका सदस्य मनिष सुमनले उपेन्द्र यादव र महतोबीच केही दिन यता वार्ता र संवाद भइरहेको बताए । ‘उपेन्द्रजी र राजेन्द्रजीबीच संवादहीनता अन्त्य भई छलफल भइरहेको मैले बुझेको छु’ सुमनले भने । 

जसपा स्रोतका अनुसार ठाकुरले चलाएको हस्ताक्षर अभियानमा महतोले हस्ताक्षर गरेका छैनन् । यसै गरी ठाकुर निकट मानिने शरसिंह भण्डारी र निर्जला राउतले पनि हस्ताक्षर नगरेको स्रोतको भनाइ छ । महतोले आफू जसपाको संसदीय दलको नेता हुनु पर्ने दाबी गर्दै आएका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादीबिच एकीकरण हुँदा महतोलाई संसदीय दलको नेता दिने मौखिक सहमति भएको महतो पक्षधर नेताको भनाइ छ । महतोलाई संसदीय दलको नेता बनाउन ठाकुरले चासो नदिएको, बरु उल्टै आफू संसदीय दलको नेता हुन चाहेको, आफ्ना सम्धी उमाकान्त झालाई मन्त्री बनाउन खोजेको आरोप महतो पक्षधर नेताहरूको छ । यसअघि, ठाकुरको सिफारिसमा उमाकान्त झालाई प्रदेश ५को प्रदेश प्रमुख बनाइएको थियो । यसै गरी ठाकुरकै सिफारिसमा खिलराज रेग्मी नेतृत्वको सरकारमा झालाई सिचाइ मन्त्री बनाइएको थियो ।

ठाकुरले अहिले फेरि उमाकान्तलाई महत्त्वपूर्ण मन्त्रालय दिन खोजको आशङ्का महतो पक्षधर नेताहरूको छ । झा सांसद छैनन् । सांसद नभए पनि ६ महिना मन्त्री बन्न सक्ने सुविधा संविधानले दिएको छ । 

ठाकुरले चलाएको हस्ताक्षर अभियानबाट सङ्कलित हस्ताक्षरको दुरुपयोग भई सबै अधिकार ठाकुरले लिन खोजेको आशङ्का महतो निकट नेताहरूको छ । त्यसैले महतो र महतो निकट कार्यकारिणी समितिका सदस्यहरूले हस्ताक्षर नगरेको स्रोतको भनाइ छ । 

पार्टीभित्र विवाद बढ्दै गए पछि ठाकुरले कार्यकारिणी समितिका सदस्य र सांसदहरूको हस्ताक्षर सङ्कलन गरेका थिए । कार्यकारिणी समितिका सदस्य मृगेन्द्र कुमार सिंहले पनि हस्ताक्षर गर्न मानेका छैनन् । यसै गरी अर्का कार्यकारिणी समितिका सदस्य सुमनले पनि हस्ताक्षर गरेका छैनन् । जसपा स्रोतका अनुसार अहिले ठाकुरसँग १५ जना सांसद मात्र छन् । 

जसपामा ३४ जना सांसद छन् । तीमध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी हाल निलम्बित अवस्थामा छन् । ती मध्ये पूर्व राजपाका १६ र पूर्व समाजवादीका १६ सांसद छन् । पूर्व राजपाका सांसद महेन्द्र यादवले यसअघि नै कित्ता परिवर्तन गरी उपेन्द्र यादव कित्तामा पुगेका छन् । यसै गरी पूर्व राजपाका ३ जना कार्यकारिणी समितिका सदस्य महेन्द्र यादव, गजाधार यादव र रमेश यादवले पनि कित्ता परिवर्तन गरी उपेन्द्र यादव कित्तामा पुगेका छन् । 

जसपाका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र उपेन्द्र यादव जसरी भए पनि केपी ओली नेतृत्वको सरकार ढाल्नु पर्छ भन्ने लाइनमा छन् भने महन्थ ठाकुर ओली सरकार विरोधी गठबन्धनमा सहभागी नहुने सहमति ओलीसँग गरेका छन् । जपाभित्रको दुई लाइनको विवादमा सुरुमा ठाकुर पक्ष बहुमतमा देखिए पनि अहिले उपेन्द्र यादव पक्षको पक्षमा बहुमत पुगेको छ । ठाकुरलाई सक्रिय साथ दिँदै आएका महतोले ठाकुरको साथ छाडे पछि ठाकुर अल्पमतमा परेका हुन् । 

उपेन्द्र यादव र भट्टराई ओली सरकार ढाल्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधव नेपालसँग भेटघाट र संवाद गरिरहेका छन् भने ठाकुर सुरुदेखि नै प्रधानमन्त्री ओलीसँग सम्पर्क र संवादमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ