arrow

ओलीले विश्वासको मत नपाए स्वतः पदमुक्त, कांग्रेस सरकार बनाउन अगाडि बढ्छ – लेखक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
ramesh-lekhak.gif.gif

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पार्टी अब नयाँ सरकार गठनका लागि अगाडि बढ्ने बताएका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदै गर्दा नेता लेखकले विश्वासको मत नपाउने भन्दै अब कांग्रेस नयाँ सरकार गठनमा लाग्ने बताएका हुन् । 

उनले ओलीले तीन वर्षअघि ६४ प्रतिशत मत पाएको तर आज तीन वर्षमा आफूलाई भ्रष्टाचारी सरकारका रुपमा उभ्याएकाले गर्दा वाध्य भएर विश्वासको मत लिनु परेको बताए । नेता लेखकले तीन वर्षको अवधिमा भ्रष्टाचार बढाउने बाहेक ओली सरकारले केही नगरेको, संविधानको उल्लंघन गरेको, आजसम्म निर्मला पन्तका बलात्कारी र हप्तारालाई कारबाही गर्न नसकेको भन्दै अब ओलीलाई नराख्ने बताए । 

नयाँ सरकार गठनका लागि कांग्रेसले बहुमत पुर्याउन सक्छ त ? भन्ने नेपाली रेडियो नेटवर्कको प्रश्नमा नेता लेखकले भने, ‘हामी नेपाली जनता सामु राख्छौं, ओलीजीको ज्यादती बढेको स्पष्ट भन्छौं । हामीलाई विश्वास छ बहुमत पुग्छ ।’

‘प्रतिनिधिसभा राजनीतिक अंक गणित त हो । सरकार बनाउने कांग्रेसको रहर हैन । हामी त यही सरकारले पाँच वर्ष काम गरोस् भनेर साथ दिएका थियौं । तर सरकारले जनतालाई दुःख दिएको, कोरोनाको महामारीमा पनि भ्रष्टाचार नरोकिएकाले अब पुग्यो भनेरै तातेका हौं’, उनले भने, ‘हामी मिसनमा छौं । अंक गणित पुगे पुगोस् नपुगे नपुगोस् । त्यो दोस्रो पाटोको कुरो हो ।’

ओलीले प्रतिनिधिसभा पुनः स्थापना भएपछि नैतिकताका आधारमा राजीनामा गर्नुपर्दथ्यो भन्दै नेता लेखकले भने, ‘आज ओलीजीले विश्वासको मत पाउनु भएन भने स्वतः प्रधानमन्त्री रहनु हुन्न । उहाँले राजीनामा गर्नु र नगर्नुको अर्थ छैन ।’

उनले थपे, ‘ओलीजीले विश्वासको मत नपाए स्वतः पदमुक्त हुनुहुन्छ । राष्ट्रपतिजीले संविधानअनुसार नयाँ सरकारका लागि आह्वान गर्नुहुनेछ ।’

नेता लेखकले ओलीको गैरसंवैधानिक चरित्र, तानाशाही प्रवृत्ति र गैरलोकतान्त्रिक चरित्रका कारण अन्य दलहरु पनि उनलाई हटाउनु पर्छ भन्नेमा एकमत भएकाले पनि ओलीको एमाले बाहेकका दलहरुसँग नयाँ सहमतिको समीकरण बन्न सक्ने बताए । 



नयाँ