arrow

नोबेलमा निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
nobel-hospital.jpg

विराटनगर । नोबेल शिक्षण अस्पतालले निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको परीक्षणका लागि नोबेलले कोरोना ओपीडी सेवा सञ्चालन गरेको हो ।

पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएमा संक्रमित व्यक्ति होम आइसोलेशनमा बस्ने गर्छन् । स्वास्थ्यमा समस्या बढेमा कोभिड अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिन्छ । तर कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तर पीसीआर परीक्षण नगराएका बिरामीहरु उपचार पाउनबाट बन्चित बन्दै आएका थिए ।

यता होम आइसोलेशनमा बसेका संक्रमितको स्वास्थ्य परीक्षणमा पनि समस्या हुँदै आएको थियो ।

यस्तै समस्या बेहोर्दै आएकाहरुको उपचारमा सहजताका लागि कोभिड ओपीडी सेवा सञ्चालन गरिएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले बताए । नोबेलले बेग्लै क्षेत्र छुट्याएर बिहान ९ बजेदेखि ५ बजेसम्म कोभिड ओपीडी सञ्चालन गरेको हो । 

सो ओपीडीमा डाक्टरहरुले उच्च सावधानी अपनाएर बिरामीको स्वास्थ्य परीक्षण गर्ने गर्छन् । ओपीडी दिउँसो मात्र सञ्चालन भए पनि त्यस्ता बिरामीको सीटी स्क्यान सेवा भने २४ सै घण्टा गर्ने व्यवस्था मिलाइएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको उपचारमा समस्या हुँदै आएको पाइएकाले उनीहरुको सहजताका लागि निःशुल्क कोभिड ओपीडी सञ्चालन गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

नोबेलमा सरकारले तोकेको अधिकतम शुल्कभन्दा ५ सय रुपैयाँ कम अर्थात् १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण हुँदै आएको छ । स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा नोबेलमा कोरोना संक्रमितको उपचार पनि निःशुल्क गरिदै आएको छ । 



नयाँ