नेपाल महिला संघले गर्यो प्रधानमन्त्रीको अभिव्यक्तिको निन्दा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
3.4k
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाल महिला संघले प्रधानमन्त्री वालेन्द्र साह बालेनले संघीय संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघकी अध्यक्ष मीनाकुमारी खरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डतासँग प्रत्यक्ष सरोकार राख्ने सीमा समस्याजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट दिएको अभिव्यक्तिप्रति संघको ध्यानाकर्षण भएको उल्लेख छ ।
संघले राष्ट्रको कार्यकारी नेतृत्वमा रहेको व्यक्तिले संसद्जस्तो गरिमामय र जिम्मेवार मञ्चमा बोल्ने विषय ऐतिहासिक आधार, तथ्य र प्रमाणसँग सम्बन्धित हुनुपर्ने जनाएको छ। सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील भएकाले यस्ता अभिव्यक्तिले राष्ट्रिय अडान र सीमासम्बन्धी स्थापित धारणामा असर पार्न सक्ने संघको भनाइ छ।
वक्तव्यमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमासम्बन्धी विषयमा व्यक्त हुने धारणा राष्ट्रिय हितअनुकूल हुनुपर्ने उल्लेख गरिएको छ।
संघले प्रधानमन्त्रीको उक्त भनाइ सरकारको आधिकारिक धारणा, कुनै राजनीतिक दलको धारणा वा व्यक्तिगत विचार के हो भन्ने विषयमा संसद् र नेपाली जनतासमक्ष यथाशीघ्र जवाफ दिन आग्रह गरेको छ।
विज्ञप्तिमा देशको सर्वोच्च कार्यकारी नेतृत्वबाट राष्ट्रिय संवेदनशीलता र कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा आएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै प्रधानमन्त्रीको भनाइको निन्दा गरिएको छ।
प्रधानमन्त्री बालेनले गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै 'हामीले पनि केही ठाउँमा सीमा मिचेका छौँ' भन्ने अभिव्यक्ति दिएका थिए ।