arrow

प्रधानमन्त्रीको अभिव्यक्ति स्थापित ऐतिहासिक तथ्यविपरीत, तत्काल सच्याउन नेकपाको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
nepali-communist-party-prachanda.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भएको आरोप लगाइएको छ।

अन्तर्राष्ट्रिय सीमा अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन (क्रस–होल्डिङ) फरक विषय भएको उल्लेख गर्दै नेकपाले कुनै देशले अर्को देशको स्वामित्वमा रहेको भूभागमा अनधिकृत रूपमा कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई मात्र अतिक्रमण मानिने स्पष्ट पारेको छ। भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एकतर्फी रूपमा अतिक्रमण गर्दै आएको दाबी गर्दै त्यसलाई तोडमोड गरी नेपालले पनि भारतको भूमि कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात भएको पार्टीको भनाइ छ।

सुगौली सन्धि तथा पुराना सीमा स्तम्भका आधारमा निर्धारण गरिएको नेपाल–भारत सीमारेखाका कारण सीमावर्ती नागरिकका खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्न सक्ने भए पनि त्यसलाई कब्जा भन्न नमिल्ने र यस्तो अवस्थालाई जग्गाको भोगचलनको अवस्था मात्र मान्नुपर्ने पार्टीको तर्क छ। नेपाल र भारतबीच सीमा विवाद रहेको र त्यसको समाधान कूटनीतिक माध्यमबाट हुनुपर्नेमा पार्टी स्पष्ट रहेको तर हालसम्म नेपालले भारतको कुनै पनि भूभाग कब्जा नगरेको तथ्यका आधारमा मात्र नेपालको दाबी कायम रहने विज्ञप्तिमा उल्लेख छ। यही तथ्यका आधारमा लिम्पियाधुरा क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको कुरा समेत नेकपाले स्मरण गराएको छ।

सीमा समस्या समाधानका लागि गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले हालसम्म सार्वजनिक नगरेको विषय उठाउँदै नेकपाले यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीबाट व्यक्त धारणा राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि गम्भीर चोट पुग्ने खालको भएको निष्कर्ष निकालेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्रीको उक्त भनाइ तत्काल सच्याउन, संसद्को अभिलेखबाट हटाउन तथा राष्ट्रिय हितका विषयमा राष्ट्रिय सहमति कायम गर्दै तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन सरकारसँग जोडदार माग गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ