arrow

चिकित्सक संघद्वारा देशभर ‘रेड अर्लट’ घोषणाः राष्ट्रपतिलाई अभिभावक बनिदिन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
medical-association-red-alert.jpg

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना भाइरसको संक्रमण तिब्र रुपमा वढीरहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा सवै दलहरूलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न अभिभावकको भुमिका निर्वाह अपिल गरेको छ ।

संघले बुधबार एक सार्वजनिक अपिलमार्फत केही महिनाका लागि राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरेर जनताको जीवन जोगाउन, एकजुट भएर भाइरससंग लड्ने र महामारीलाई परास्त गर्ने अभियानमा जुट्न पनि आग्रह गरेको छ ।

अस्पताल आउन नपाएका, आएकालाई फर्काउनु परेका, वचाउन सक्ने अवस्था हुँदाहुँदै एक सिलिन्डर अक्सिजन नपाएर आफ्नै आँखा अगाडि मर्नुपरेको, परिवारले प्राण जोगाइदिन गरेको अनुनयविनय,अक्सिजन र शैया भन्दै गरेको हार गुहारको हृदयविदारक दृष्यले आफूहरुको भोक, निद्रा सवै लगेको पनि संघले जनाएको छ ।

कोरोनाको पहिलो लहरदेखि नै जुनसुकै वेला भयावह अवस्था आउनसक्छ, आवश्यक तयारी गरौं भनेर निरन्तर झक्झकाइहरेका तर समयमा नसुन्दा, तयारी नगर्दा, प्राथमिकतामा नपर्दा आज नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको र सास्ती व्यहोर्नुपरेको संघका अध्यक्ष डा. लोचन कार्की र महासचिब डा.बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले देशभर ‘रेड अर्लट’ घोषणा गर्दै सबैले आआफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न पनि अपिल गरेको छ । विज्ञप्तिमा भनिएको छ‘हामी चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेका छौं, गरिरहेने छौं । हिम्मत नगुमाइकन गर्नेछौं । यो हाम्रो कर्तव्य हो, आजका दिनमा सबैभन्दा ठुलो धर्म हो ।

राज्य संचालनको जिम्मा लिएकाहरूले पनि हामीले जस्तै आफ्नो जिम्मेवारीवोध गर्दै यो वेलामा त्यसरी नै काम गरिरहनु भएको छ त ? हाम्रो प्रयत्नलाई फलिभुत वनाउन सवैले हातेमालो गररहेका छन भन्ने अनुभुत गर्न पाए मात्र हाम्रो हिम्मत र प्रयासको अर्थ रहन्छ । तर, विडम्वना हामीले त्यो अनुभुत गर्न पाएनौं । यो लडाई स्वास्थ्यकर्मी वा स्वास्थ्य मन्त्रालयको मात्रै होइन । हामी सवै एकजुट भएर राष्ट्रिय संकल्प गर्न सकेमात्र लडाई जित्न सकिन्छ ।’

हार्दिक अपील !

“जनताको जीवन रक्षा भन्दा ठुलो मुद्दा अरु हुनसक्दैन, कृपया ! सिंगो राष्ट्र एकठाँउमा उभिएर जनताको जीवन रक्षाका लागि पहल गरौं” 

सम्माननीय राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यू, प्रमुख प्रतिपक्ष दल एवं सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज एवं सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरु, 

स्वास्थ्य मन्त्रालयको मिति २०७८ बैशाख २८ गतेको विवरण अनुसार कोभिड १९ बाट एकै दिन ९४८३ जनामा संक्रमण पुष्टी भयो, २२५ जनाको मृत्यु भयो । सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना रहेका छन् । अहिले १३७४ जना आइसियू र भेन्टिलेटरमा उपचाररत छन् । यो संख्या दैनिक द्रुततर गतिमा वढेको छ । हाम्रो स्वास्थ्य प्रणाली थेग्नै नसक्ने अबस्थामा पुगेको छ । 

अस्पताल आउन नपाएका, आएकालाई फर्काउनु परेका, वचाउन सक्ने अवस्था हुँदाहुँदै एक सिलिन्डर अक्सिजन नपाएर आफ्नै आँखा अगाडि मर्नुपरेको, परिवारले प्राण जोगाइदिन गरेको अनुनय विनय, अक्सिजन र शैया भन्दै गरेको हारगुहारको हृदयविदारक दृष्यले हाम्रो भोक, निद्रा सवै लगेको छ । अस्पतालको प्राङ्गणमा भएका दृष्य हुन जुन देख्न हामी विवश छौं । तर, जव सामाजिक सञ्जाल, समाचारहरू हेर्छौं तव जनताका यी पिडा र वेदना भन्दा अन्य विषयहरू प्राथमिकताका विषय छन, मानौं अस्पतालमा ति हृदयविदारक दृष्य अर्कै लोकका हुन । अनि अस्पतालमा दिनरात खटेको हाम्रो मन खिन्न हुन्छ, उदेक लाग्छ र प्रश्न गर्न मन लाग्छ –के नेतृत्वदायी भूमिकामा रहेकाहरुका लागि जनताको जीवन भन्दा ठुलो कुरा अरु केही हुनसक्छ ?

हामीले कोरोनाको पहिलो लहरदेखि नै जुनसुकै वेला भयावह अवस्था आउनसक्छ, आवश्यक तयारी गरौं भनेर निरन्तर झक्झकाइरह्यौं । तर समयमा नसुन्दा, तयारी नगर्दा, प्राथमिकतामा नपर्दा आज नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको छ, सास्ति व्यहोर्नुपरेको छ । आज फेरी पनि केही आशा गरेर यो विन्ती गर्दैछौं । अव केही महिनाका लागि तपाईका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता वनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससंग लड्ने र महामारीलाई परास्त गर्ने ।

यस क्षणमा सम्माननीय राष्ट्रपतिज्यूलाई सवै दलहरूलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न अभिभावकको भुमिका निर्वाह गर्न यस संघ हार्दिक अपिल गर्दछ । 

यस्तो भयावहपूर्ण अवस्थामा नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्न, सम्पूर्ण नागरिकहरुको जीवन रक्षाका निमित्त सबैले हातेमालो गर्दै समन्वयात्मक भूमिका निर्वाह गर्नु अपरिहार्य रहेको छ । यस्तो संकटपूर्ण अवस्थामा कोरोना भाइरससँग लड्नका लागि सम्पूर्ण नागरिकहरु स्वास्थ्य सैनिकको रुपमा आ आफ्नो स्थानबाट पहल गर्न नितान्त आवश्यक छ ।

हामी चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेका छौ, गरिरहेने छौ । हिम्मत नगुमाइकन गर्नेछौ । यो हाम्रो कर्तव्य हो, आजका दिनमा सवैभन्दा ठुलो धर्म हो । राज्य संचालनको जिम्मा लिएकाहरूले पनि हामीले जस्तै आफ्नो जिम्मेवारीवोध गर्दै यो वेलामा त्यसरी नै काम गरिरहनु भएको छ त ? हाम्रो प्रयत्नलाई फलिभुत वनाउन सवैले हातेमालो गररहेका छन भन्ने अनुभुत गर्न पाए मात्र हाम्रो हिम्मत र प्रयासको अर्थ रहन्छ । तर, विडम्वना हामीले त्यो अनुभुत गर्न पाएनौं । यो लडाई स्वास्थ्यकर्मी वा स्वास्थ्य मन्त्रालयको मात्रै होइन । हामी सवै एकजुट भएर राष्ट्रिय संकल्प गर्न सकेमात्र लडाई जित्न सकिन्छ ।

त्यसैले, फेरी पनि विनीत भएर संघ आग्रह गर्दछ- कृपया आजको दिनमा एकमात्र प्राथमिकतामा कोरोना महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई राखौं । सरकारहरू, राजनीतिक दलहरू, निजी क्षेत्र, सहयोगी निकायहरू सवैले जनताको जीवनरक्षाका लागि कहाँ कति योगदान गर्न सकिन्छ गरौं । हाम्रो स्वास्थ्य प्रणालीलाई थप ढल्न नदिन सवैले भरथेग गरौं । एउटा राष्ट्रिय संकल्पका साथ यो महामारी विरुद्ध लडौं । हामी कोरोना युद्धमा होमिएका छौं, दृढतापुर्वक खटिने छौं, यतिवेला यो लडाईमा तपाईहरूको संकल्प, सत्प्रयास र साथ चाहिएको छ ।  

त्यसैले नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गर्दै नेपाल चिकित्सक संघ देशभर "RED ALERT"घोषणा गर्दै सबैले आ आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण पेशागत संघ संगठनहरु दाजुभाई दिदी बहिनीहरु यस युद्ध मैदानमा होमिएर हामीलाई सहयोग र सद्भाव उपलब्ध गराउँदै कोभिड–१९ को महामारीको जालोलाई तोड्नका लागि यस संघ सबैमा हार्दिक अपिल गर्दछ । सर्व साधारण नागरिकहरुले यस बिषमपूर्ण परिस्थितिमा धैर्यता र संयमता अपनाउँदै स्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गरेर आ आफ्नो स्थानमा सुरक्षित रहन समेत हामी हार्दिक अपिल गर्दछौं । 
 डा.बद्री रिजाल                     डा.लोचन कार्की
  महासचिव                               अध्यक्ष



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ