arrow

देउवा निवास पुगे महन्थ र राजेन्द्र, निर्णायक वार्ता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
deuba-thakur.jpg

काठमाडौं । प्रतिपक्षमा रहेका दलहरुबीच सरकार निर्माणमा कसरी अघि बढ्ने भन्नेबारे निर्णायक छलफल शुरु भएको छ ।

सत्तारुढ एमालेमा माधव नेपाल समूहलाई फकाउने प्रयास अध्यक्ष केपी ओलीले शुरु गरेपछि विपक्षी दलका बीचमा समेत घनिभूत छलफल शुरु भएको हो ।

अब कसरी अघि बढ्ने भन्ने सन्दर्भमा यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच छलफल चलिरहेको छ ।

यो छलफललाई निर्णायक छलफलका रुपमा लिइएको छ भने जसपाका नेताहरुसमेत पहिले भन्दा फरक रुपमा प्रस्तुत भएको बुझिएको छ । विपक्षमा रहेको अर्को दल नेकपा माओवादी केन्द्र भने कांग्रेस नेतृत्वको नयाँ सरकार निर्माणका लागि तयार छ ।

जसपा भित्रको उपेन्द्र यादव र बाबुराम भट्टराईसमेत त्यसका लागि तयार छन् । तर महन्थ र राजेन्द्रले भने सहमती जनाइसकेका छैनन् । यो भेटवार्तामा भने उनीहरुसमेत सहमती तर्फ अघि बढेको बुझिएको  छ ।

‘सत्तारुढ दलमा भएको माधव नेपाल समूहमाथिको कारवाही फुकुवापछि विपक्षी पनि एक ठाउँमा उभिने सम्भावना बढेको छ, निणरयक छलफल हुँदैछ, छलफल सकरात्मक छ,’ बुढानिलकण्ठ स्रोतले भन्यो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आहवान गरेकी छन् । सो समय आज सकिंदैछ ।

कांग्रेससँग ६१, माओवादी केन्द्रसँग ४८ (सभामुखबाहेक) र जसपासँग ३२ सांसद छन् । त्यो भनेको १४१ सांसद हुन् । हाल प्रतिनिधिसभामा कायम सांसद संख्या २७१ छ । नयाँ सत्ता समीकरण बन्न १३६ सांसद आवश्यक हुन्छ । तर सत्तारुढ दल एक हुँदा उनीहरुसँग १२१ सांसद संख्या रहन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ