arrow

महामारीमा राष्ट्रपतिको सङ्कल्प, पशुपतिनाथमा ११ दिने क्षमा पूजा सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
pashupatinath.JPG

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सङ्कल्पमा अक्षय तृतीयाको दिन पारेर शुक्रवारदेखि पशुपतिनाथ मन्दिर र वासुकिनाथ मन्दिरमा ११ दिने क्षमा पूजा सुरु गरिएको छ । राष्ट्रपति कार्यालयमामा बिहीबार सङ्कल्प गरेपछि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा मूलकर्ता बनेर उक्त पूजा सुरु गरेका हुन् ।

विश्वशान्ति, राष्ट्र कल्याण र मानव जीवनका लागि राष्ट्रपति भण्डारीले क्षमा पूजाको सङ्कल्प गरेकी हुन् । सङ्कल्पका क्रममा भण्डारीले विश्वव्यापी कोभिडका कारण नेपालमा पनि मानवीय क्षति भएको भन्दै चासो र चिन्ता व्यक्त गरेको कोषाध्यक्ष थापाले जानकारी दिए ।

नेपालमा विगतदेखि नै महामारी हुँदा पूजा गर्ने प्रचलन छ । कोषको ३५औँ वार्षिकोत्सव अवसर पारेर शुक्रवारदेखि जेठ १० गतेसम्म क्षमा पूजा गरिने भएको हो । थापाले भने, ‘विज्ञानले आविष्कार गरे पनि त्यो प्रकृतिसँग जोडिएको हुन्छ । विज्ञान प्रविधि भनेकै दैवी शक्तिको सारथि हो । प्रकृति सहज भए मात्र विज्ञानका उपलब्धिहरू पनि सार्थक बन्छन् । त्यसैले प्रकृति खुसी पार्न यो पूजा गरिएको हो ।’

११ दिने क्षमा पूजाले कोभिड महामारी धनजनको क्षति न्यूनीकरण हुने र प्राकृतिक वातावरण स्वच्छ हुने थापाको भनाइ छ । उनका अनुसार यो अवधिमा पाशुपत क्षेत्रका सबै मठमन्दिरमा विशेष पूजा हुनेछ । पशुपतिनाथको गर्भ गृहमा मन्दिरमा मूल भट्ट गणेश भट्टले पूजापाठ र जप गर्नेछन् भने मन्दिरमा पशुपतिकै पुजारी दिवाकर आचार्यको नेतृत्वमा १८ जना पुरोहितले हरेक दिन बिहान पूजाआजा गर्नेछन् । 

धार्मिक मान्यता अनुसार महामारीको सङ्कटको घडीमा सबै भैरव र देवीहरूको पूजाआजा गर्नु उत्तम हुन्छ । डा. थापाले शुक्रवार शितलामाईको समेत पूजा गरेको बताउँदै भने, ‘यो क्षमा पूजाले प्रकृतिमा भएका कीटाणु र भाइरस मार्छ । मानवीय सङ्कट र क्षति भएको बेला यो पूजाले मानवमानमा आत्मविश्वास पनि बढाउँछ ।’

क्षमा पूजाको अन्तिम दिन पूर्णाहुति यज्ञ लगाइने छ । जसमा पशुपतिनाथका मूल भट्ट, वासुकिनाथका भट्टसमेत पाँचै जना भट्ट, ११ जना ब्राह्मणले रुद्री पाठ, महामृत्युञ्जय जप, चण्डी पाठ, गणेश सहस्र नाम, विष्णु सहस्र नाम, आदित्य सहस्र नाम लगायत गर्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ