arrow

स्मरणमा वर्ल्डलिंकका निर्देशक विजय जालान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
bijay-jalan-world-link-dire.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वलाई नै तहसनहस पारिरहेका बेलामा नेपाल पनि अछुतो छैन । पछिल्लो समय फैलिइरहेको कोरोनाको दोस्रो छालले अझ बढी अत्यास बढाएको छ । त्यतिमात्र होइन तेहेरो संख्यामा दैनिक नेपालीहरुको ज्यान जान थालेको छ । 

कोरोनाका कारण नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले सहसंस्थापक तथा निर्देशक विजयकुमार जालानलाई पनि गुमाएको छ । अल्पायुमै जलानको बिहीबार बिहान निधन भएको हो । 

४६ वर्षीय जालानको उपचारका क्रममा बिहीबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।  गत बैशाख १५ गते पीसीआर परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टि भएपछि बैशाख १८ गते अस्पताल भर्ना भएका थिए । पछिल्ला केही दिन यता उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको थियो । 

जालानको बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गरी जलाउने कार्य नेपाली सेनाले गर्दै आएको छ ।

उक्त अन्त्येष्टि कार्यक्रममा वर्ल्डलिंकका पदाधिकारी एवं उच्चतहका कर्मचारीहरु सहभागी भएका थिए । जलानकी श्रीमती र एक छोरा छन् । 

व्यवसायमा अत्यधिक कुशाग्रता, व्यवहारिक दृष्टिकोण एवं सहयोगी र सदाचारी स्वभावका लागि उनलाई चिन्नेजान्नेहरू उनको ठूलो अभाव महशुश गरिरहेको बताउँछन् । 

को हुन् जालान ? 
जालान वर्ल्डलिंकका संस्थापकहरूमध्ये एक थिए । उनले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकलाई तल्लो तहबाट नेपालकै ठूलो आईएसपी बनाउन योगदान दिएका थिए । 

जालानको आकस्मिक निधन वर्ल्डलिंक परिवारका लागि अपूरणीय क्षति हो । वर्ल्डलिंकलाई युगान्तकारी र ग्राहकसेवामा समर्पित संस्थाका रूपमा विकास गर्नमा उनको दूरदृष्टि, मार्गदर्शन र सक्रिय सहभागिताको अहम भूमिका रहँदै आएको थियो । 

आउँदा दिनमा वर्ल्डलिंक परिवारलाई उनको अभाव अत्यधिक हुनेछ । जालान इन्टरनेट सेवा प्रदायक संघ नेपालका वरिष्ठ सल्लाहकार तथा कार्यकारी समिति सदस्यसमेत थिए । 

नेपालको इन्टरनेट उद्योगको विकास र विस्तारमा उल्लेख्य योगदान गरेका उनी जलेश्वरनाथ विकास समाजका अध्यक्षसमेत थिए । उनी लोक कल्याणकारी कार्यसंगै सामाजिक सेवाका क्षेत्रमा पनि सुपरिचित थिए । 

राधेराधे र मानव सेवा आश्रमसँगै कयौं धर्मशाला, विद्यालय र अन्य सामाजिक संघसंस्थाहरुमा उनी सदैव क्रियाशील थिए । 

उनका बुबा वुद्धदेव जालान, दाजुहरु अनिल जालान र अरुन जालान हुन् । विजयकुमार वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालका मामाका छोरा हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ