arrow

ओलीको नयाँ ट्रिक नेपालसँगको वार्तामा बादल पनि सहभागी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
oli-nepal-singhadurbar-badal.jpg
तस्बिर : सुर्य थापा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालसँग संवाद गर्न गृहमन्त्री रामबहादुर थापा बादललाई पनि सहभागी गराएका छन्। नेकपा एमालेको विवाद मिलाउन अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिचको संवादमा बादललाई पनि सहभागी गराएका छन्।

ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको उपस्थितिमा वार्ता भइरहेको छ। उक्त वार्तामा ओली र नेपाल पक्षका नेताहरू सहभागी छन्। उनीहरूले यही वार्ताबाट दुवै पक्षले कम्तीमा १० सदस्यीय कार्यदल बनाउने जनाएका छन्। नेपालसहित माओवादी केन्द्रबाट एमालेमा आएका नेता बादल पनि सहभागी गराएर अबको स्थायी कमिटीको बैठक नै बादल सहित बस्ने सङ्केत गरेका हुन्।

वार्तामा ओली पक्षबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, ‘बादल’, एमाले दलका उपनेता सुवास नेम्वाङ, ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन्। त्यस्तै वरिष्ठ नेता नेपाल पक्षबाट भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल, गोकर्ण विष्ट सहभागी रहेका छन्।

बिहीबार नेताद्वय बीच चार घण्टा सम्म ‘वान टु वान’ भएको वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने सहमति गरेर उठेका थिए।  त्यसका लागि कार्यदल बनाउने सहमति दुई नेताबिच भएको थियो। त्यही सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहका नेतासहित ओली–नेपालले छलफल गर्न थालेका हुन्।

ओलीले चाडै नै महाधिवेशन गर्ने र त्यहीबाट सबै विषयहरूमा छिनोफानो गर्ने योजना बनाएका छन्। यही क्रममा नपाल पक्षले पनि अहिले महाधिवेशन आयोजक कमिटी बनाउन सहमत जनाइसकेका छन्। एमालेको पूर्ववत् संरचना (२०७५ जेठ २) मा नफर्कने ओलीको अडान र पूर्ववत् संरचनामै फर्कनु पर्ने नेपाल दुवै एक एक कदम पछाडि हटेर त्यही विन्दुबाट विवाद मिलाउने गरी कार्यदल बनाउन सहमत भएका थिए।

यसले गर्दा एमालेभित्रको विवादमा केही दिन मत्थर भएको थियो। ओली नेपालबीच चार घण्टा लामो संवादपछि दुवै नेता कार्यदल बनाएर जान सहमत भए। नेपालले पदाधिकारी सहित २०७५ जेठ २ गतेको बैठक राख्नु पर्ने अडान र त्यसपछि गर्ने विषयवस्तु वारे आफ्ना धारणा राखेका थिए।

नेपालले सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनु पूर्वको अर्थात् ज्येष्ठ २ गतेको स्थितिमा पार्टी, जनसङ्गठन र पेसागत सङ्गठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउनु पर्ने, नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्नुपर्ने, पार्टीलाई विधि, विधान र पद्धति अनुरूप सञ्चालन गन्नुपर्ने, पार्टीमा उत्पन्न अन्तर विरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एक अर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्नुपर्ने सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरि हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गन्नुपर्ने, पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने र यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने जस्ता विषयमा ओली नेपालबिच छलफल भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ