- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। जनता समाजवादी पार्टीको विवाद उत्कर्षमा पुगेको छ। जसपाको उपेन्द्र यादव पक्षले शनिवार काठमाडौँमा कार्यकारिणी समितिको बैठक बोलाएको छ। यादवले बैठक बोलाएकोमा महन्थ ठाकुरले विज्ञप्ति निकाली आपत्ति जनाएका छन्।
उपेन्द्र पक्षका कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बैठकमा २८ जना कार्यकारिणी समितिका सदस्यहरू रहेको बताएका छन्। बैठकले समसामयिक विषयमा छलफल गरिरहेको उनले बताए।
५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र बहुमतमा छन्। पूर्व राष्ट्रिय जनता पार्टी नेपालका ३ जना कार्यकारिणी समितिका सदस्यहरू महेन्द्र यादव,रमेश यादव र गजाधर यादवले कित्ता परिवर्तन गरी उपेन्द्र यादव कित्तामा गएका छन्। संसदीय दलमा भने ठाकुर पक्षका १६ र उपेन्द्र यादव पक्षका १६ जना सांसद छन्। ठाकुर पक्षले भने आफूसँग १९ जना सांसद रहेको दाबी गर्दै आएको छ।
कित्ता परिवर्तन गरेको सांसदहरूको बारेमा भने ठाकुर पक्षका नेताहरूले केही बोलेका छैनन्। ठाकुर पक्षका सांसदहरूले शुक्रवार राजेन्द्र महतोलाई दलको नेता चयन गरेका छन्। उपेन्द्र पक्षका एक नेताले शनिवार बोलाइएको बैठकमा ठाकुर, महतो पक्षधरका नेताहरूलाई कारबाही गर्ने सम्भावना रहेको बताए।
कार्यकारिणी समितिको बहुमतबाट ठाकुर र महतोलाई कारबाही गर्न सक्ने आधार भएको उनले दाबी गरे। जसपाको विधानमा सहमतिबाट निर्णय गर्ने, सहमतिबाट निर्णय हुन नसके बहुमतबाट निर्णय गर्ने भनी व्यवस्था गरिएको छ। उक्त व्यवस्थालाई टेक्दै ठाकुर र महतोलाई कारबाही गर्ने सम्भावना रहेको ती नेताले बताए।
यसैबिच, ठाकुरले शनिवार दिउसो विज्ञप्ति निकालेर जसपाको कार्यकारिणी समितिको बैठक नबोलाइएको बताएको छन्। बैठक बोलाइएको भनी सञ्चार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताएका छन्। ठाकुर पक्षका नेता केशव झाले शनिवार कार्यकारिणी समितिको बैठक बोलाइएको विषयमा आफू जानकार नभएको बताए।