- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले शनिवार बोलाएको कार्यकारिणी समितिको बैठकले राजेन्द्र महतोलाई जसपाको संसदीय दलको नेता चयन गरिएको भन्ने दाबी अवैधानिक र निराधार भएको भन्दै यस सम्बन्धमा निर्वाचन आयोग र संसद् सचिवालयलाई जानकारी गराउने निर्णय गरेको छ।
बैठकमा सहभागी यादव पक्षका नेता राम सहाय यादवले महतोलाई दलका नेता चयन गरिएको प्रचार भ्रम पूर्ण भएको बताए। यसबारेमा आइतबार निर्वाचन आयोग र संसद् सचिवालयलाई जानकारी गराउने तयारी भएको उनले बताए।
शुक्रवार ठाकुर पक्षले बैठक गरी महतोलाई दलको नेता चयन गरेको घोषणा गरेको थियो। महतो पक्षका नेताहरूले आइतबार यसबारेमा निर्वाचन आयोग र संसद् सचिवालयलाई जानकारी गराउने भएका छन्। उपेन्द्र यादव पक्षले शनिवार बोलाएको बैठकमा सहभागी बहुसङ्ख्यक कार्यकारिणी समितिका सदस्यहरूले विधान विपरीत हिँडेकोले ठाकुर र महतोलाई कारबाही गर्नु पर्ने सुझाव दिएका थिए।
बैठकमा सहभागी रमेश यादवले बैठकमा ठाकुर र महतोलाई कारबाही गर्नु पर्ने कुरा जोडदार रूपमा उठेको बताए। तर बैठक पछि उपेन्द्र यादव पक्षले निकालेको विज्ञप्तिमा यसबारेमा केही बोलिएको छैन। उपेन्द्र यादव पक्षले बोलाएको बैठकलाई ठाकुर पक्षले अवैधानिक भएको दाबी गरेको छ।
शनिवार पार्टीको बैठक नबोलाइएको ठाकुर पक्षको दाबी छ। ओली सरकारलाई ढाल्ने कि नढाल्ने भन्ने विषयमा जसपा अहिले दुई कित्तामा बाँडिएको छ।