arrow

डा.शर्माले झापाबासीलाई दिए निःशुल्क एम्बुलेन्स

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
dr-sunil-sharma.jpg

झापा । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा. सुनिल शर्माले झापामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् ।

झापाबासीको सहजताका लागि डा.शर्माले नोबेल शिक्षण अस्पतालमार्फत बुद्धशान्ति गाउँपालिका–३ स्थित महिला सामुदायिक अस्पताललाई एम्बुलेन्स प्रदान गरेका हुन् ।

नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माले करिब डेढ वर्षअघि पार्टीको जनजागरण अभियानका क्रममा झापामा आयोजित कार्यक्रममा सो क्षेत्रलाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका थिए ।

सोही अनुरुप डा. शर्माले नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समिति झापाको सिफारिसमा महिला सामुदायिक अस्पताललाई करिब १३ लाख मूल्य बराबरको एम्बुलेन्स निःशुल्क प्रदान गरेको क्षेत्रीय सभापति खगेन्द्र मैनालीले जानकारी दिए । 

एम्बुलेन्स प्रदान गरिएको सो अस्पताल समुदायस्तरबाट महिलाले मात्र सञ्चालन गरेका हुन् । अहिले सो एम्बुलेन्सले कोरोना संक्रमितलाई लक्षित गरी सेवा प्रदान गर्न थालेको छ ।

एम्बुलेन्सको अभावमा समयमै अस्पताल पुग्न नपाएर बिरामीको मृत्यु नहोस् भन्ने उद्धेश्यले एम्बुलेन्स प्रदान गरेको डा.शर्माले बताए । 

‘समयमै एम्बुलेन्स नपाउँदा अस्पताल नै पुग्न नपाई बिरामीको ज्यान पनि जान सक्छ । झापा मेरो जन्मभूमि पनि हो, मेरो जन्मभूमिमा यस्तो नहोस् भनेर एम्बुलेन्स दिएको हुँ,’ डा. शर्माले भने ।

डा. शर्मा झापाको दमकस्थित दुम्सेमा जन्मिएका हुन् । निम्न आर्थिक अवस्थाको परिवारमा हुर्किएर निकै दुःख, कष्ट गरी छोटो समयमै आर्थिक रुपमा छलाङ मारेका डा.शर्मा अहिले समाजसेवामा सक्रिय छन् । 

विराटनगरमा निजी क्षेत्रबाट पूर्वी नेपालकै सबैभन्दा ठूलो नोबेल अस्पताल सञ्चालन गरेका डा.शर्माले हजारौं गरिब तथा बिपन्न विरामीलाई निःशुल्क उपचार गराईसकेका छन् ।

अस्पताल सञ्चालन र समाजसेवासँगै राजनीतिमा पनि सक्रिय डा.शर्मा अहिले काठमाडौं मेडिकल कलेज अध्यक्षको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् ।

डा. शर्माले यसअघि पनि बिभिन्न जिल्लामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । उनले कणाली प्रदेशको विकट जिल्ला कालिकोट र पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि एम्बुलेन्स दिएका छन् । 

मोरङमा मात्रै चार वटा एम्बुलेन्स दिइसकेका छन् । मोरङको पथरीशनिश्चरेमा दुई वटा तथा सुन्दरहरैंचा र रतुवामाईस्थित इटहरामा डा. शर्माले एक–एक वटा एम्बुलेन्स प्रदान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ