- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा भयावह रूप लिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि देशभर नै लकडाउन जारी छ । यद्यपि, हालसम्म सङ्क्रमणको दर कम भएको अथवा चैन ब्रेक भने हुन नसकेको देखिएको छ ।
पछिल्लो दुई साताको तथ्याङ्क विश्लेषण गर्दा सङ्क्रमण निरन्तर बढेको पाइएको हो । गत साता भन्दा यो साता संक्रमण दर बढेको पाइएको छ ।
गत साता (वैशाख २५ देखि वैशाख १९)सम्ममा १ लाख ३१ हजार ९ सय ४८ जनाको (पीसीआर र एन्टीजिन ) कोरोना सङ्क्रमण परीक्षण गरिएको थियो ।
परीक्षण गरिएकामध्ये ५७ हजार ६ सय ६२ जनमा सङ्क्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको ४३.७० प्रतिशत हो । अर्थात् सो अवधिमा नेपालमा १०० जनको परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भइरहेको थियो ।
यो साता सङ्क्रमण दर झनै बढेको छ । पछिल्ला सात दिन (जेठ १ देखि वैशाख २६ गते)सम्म नेपालमा १ लाख ४० हजार १ सय ७१ जनाको (पीसीआर र एन्टीजिन ) कोरोना सङ्क्रमण परीक्षण गरिएको छ ।
परीक्षण गरिएकोमध्ये ६२ हजार ५ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको ४४.६३ प्रतिशत हो । यो भनेको १०० जनाको परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भइरहेको हो ।
यसरी हेर्दा कोरोना सङ्क्रमण दर गत साताको तुलनामा यो साता झण्डै १ प्रतिशतले बढेको छ ।
दैनिक सङ्क्रमण समेत बढ्दो
परीक्षण कम गरिएका दिन सङ्क्रमितको सङ्ख्या कम देखिने गरे पनि अनुपातमा हेर्दा सङ्क्रमण बढी रहेको पाइएको छ । हिजो मात्रै पनि अस्तिको तुलनामा सङ्क्रमण दर बढी छ ।
पछिल्लो एक सातामा औसत सङ्क्रमण दर ४४.६३ रहेको छ । अर्थात् १०० जनाको नमुना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भइरहेको छ । गत साता यो दर ४३ रहेको थियो । यी दुवै तथ्यांकले कोरोना सङ्क्रमण बढ्दो अवस्थामा रहेको र सङ्क्रमणको चैन ब्रेक हुन नसकेको देखाउँछ ।
हिजो (जेठ १)को तथ्याङ्क हेर्ने हो भने पनि पोजेटिभिटी दर ४४.०३ प्रतिशत छ । हिजो १८ हजार ५ सय ४८ जनको नमुना परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
त्यसअघि अस्ति वैशाख ३१ मा सङ्क्रमण दर ३९.६६ प्रतिशत रहेको थियो । यो दिन २१ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको थियो, जसमध्ये ८ हजार ५ सय २० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
वैशाख ३० गते सङ्क्रमण दर ४४.२५ प्रतिशत रहेको छ । यो दिन २० हजार २ सय ४५ जनाको नमुना परीक्षण गरिएकोमा ८ हजार ९ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
वैशाख २९ गते पनि ४४.७७ प्रतिशत रहेको थियो । यो दिन २० हजार ७ सय ८६ जनाको नमुना परीक्षण गरिएको थियो भने, ९ हजार ३ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
वैशाख २८ गते सङ्क्रमण दर ४४.४८ प्रतिशत रहेको थियो । यो दिन २१ हजार ३ सय १६ नमुना परीक्षण गरिँदा ९ हजार ४ सय ८३ मा सङ्क्रमण पुष्टि भएको थियो ।
वैशाख २७ गते सङ्क्रमण दर झनै उच्च थियो । यो दिन ५०.३५ प्रतिशत सङ्क्रमण दर रहेको थियो । जसमा १८ हजार ४ सय ११ जनाको नमुना परीक्षण गरिदा ९ हजार २ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
वैशाख २६ गते सङ्क्रमण दर ४५.६५ प्रतिशत रहेको थियो । याे दिन १९ हजार ३ सय ८७ जनाको नमुना परीक्षण गर्दा ८ हजार ८ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।