arrow

ठोरी गाउँपालिकाले बनायो अक्सिजनसहितको आइसोलेसन, अक्सिजन पनि आफैं उत्पादन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
thori.jpg

पर्सा । पर्साको ठोरी गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन बनाएको छ । गाउँपालिकाले ठोरी–४ घ्याङ डाँडामा कोरोना संक्रमणमा परेका नागरिकहरुलाई लक्षित गर्दै २० बेडको अक्सिजनसहितको आइसोलेसन तयार गरेको हो ।

गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ (पिएल)ले गाउँपालिकाले संक्रमणको जोखिमलाई ध्यान दिंदै २० वटा अक्सिजन सिलिण्डरसहित २० बेडको आइसोलेसन तयारी अवस्थामा राखेको जानकारी दिए । उनका अनुसार अक्सिजन सपोर्ट आवश्यकता पर्ने संक्रमितहरुलाई आइसोलेसन केन्द्रमा ल्याएर राखिने छ ।

तर, अक्सिजन सपोर्ट आवश्यक नपर्ने बिरामीहरुलाई भने घरमा नै ‘होम आइसोलेसन’ मा राख्न गाउँपालिकाले सबै वडाहरुलाई सर्कुलर गरेको छ । गाउँपालिकाले अक्सिजन उत्पादन गर्न ‘अक्सिजन कन्सन्ट्रेटर’ समेत ल्याउने तयारी गरेको छ । सो मेसिनले हावामा रहेका अक्सिजनलाई तान्ने र प्रशोधन गरेर मेसिनमा जम्मा गर्ने छ भने त्यसपछि आवश्यक पर्ने व्यक्तिले अक्सिजन लिन सक्नेछन् ।

गाउँपालिकाले कोभिडका बिरामीलाई बोक्नका लागि एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ भने ननकोभिड बिरामीलाई दिइने सेवालाई समेत निरन्तरता दिन अन्य दुई वटा एम्बुलेन्स संचालनमै रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

आइसोलेसनमा बसेका कसैलाई असहज भए गाउँपालिकाको आइसोलेसनमा ल्याएर राखिने छ भने थप उपचार आवश्यक परे एम्बुलेन्स मार्फत अस्पताल लैजाने व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसैगरी निषेधाज्ञाको समयमा देशका विभिन्न स्थानबाट गाउँ फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा राख्न गाउँपालिकाले सबै वडाका अध्यक्षहरुमार्फत रेखदेख गरिरहेको छ । यस्तै गाउँपालिकाले पिसिआर र एन्टिजेन विधिमार्फत लक्षण देखिएका तथा संक्रमण पुष्टी भएर संक्रमितको सम्पर्कमा आएकाहरुको कोरोना परिक्षणसमेत निशुल्क रुपमा गर्दै आएको छ

आइसोलेसनमा राखिने संक्रमितहरुका लागि रेखदेख गर्न आवश्यक पर्ने जनशक्ति स्थानीय स्वास्थ्यचौकीबाट व्यवस्थापन गरिएको छ भने स्टाफ नर्स तथा अनमीहरुसमेत भर्ना गरी तयारी अवस्थामा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ