arrow

राष्ट्रिय सभा उपनिर्वाचन : कोरोना संक्रमित मतदाताले पनि मतदान गर्न पाउने

७२ घण्टाको पीसीआर रिपोर्ट चाहिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
election-commission1-1618997712.jpg

काठमाडौँ । निर्वाचन आयोगले ६ जेठमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न पीसीआर रिपोर्ट अनिवार्य गरेको छ ।  निर्वाचन आयोगले उपनिर्वाचनमा मतदान गर्नका लागि मतदाताहरूलाई ७२ घण्टाअघि पीसीआर परीक्षण गरेको रिपोर्ट अनिवार्य गरेको हो । 

उपनिर्वाचनलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी सम्पन्न गर्नका लागि पीसीआर परीक्षणलाई अनिवार्य गरेको आयोगले जनाएको छ । 

कोरोना संक्रमण पुष्टि भएका मतदाताहरूले समेत मतदान गर्न पाउने गरी आयोगले व्यवस्था मिलाइएको बताएको छ । आयोगका अनुसार कोरोना संक्रमित मतदाताहरूका लागि फरक मतदान केन्द्रको व्यवस्था गरिने छ । सो मतदान केन्द्रमा मतदान गर्न जाने सबैले अनिवार्य रुपमा फेससिल्ड, पन्जा र मास्क लगाउनु पर्नेछ ।
 
यस्तै मतदान स्थलमा आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ-डेस्कसमेत स्थापना गर्ने आयोगले जनाएको छ ।  मतदाताले उपनिर्वाचनमा मतदान स्थलमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाएर मात्र प्रवेश पाउने छन् । 

यसै गरी मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिहरू सबैले अनिवार्य रुपमा पिपिईको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
 
मतदान स्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदान स्थल वा केन्द्रमा रहँदा कम्तीमा २ मिटरको दूरी कायम गर्नुपर्ने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५ जना मतदाताले मतदान गरी सकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छाप लगायतका मतदान सामग्रीहरू र मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि र मतगणना स्थलमा मतपेटिका खोल्नु अघि  अनिवार्य रुपमा मतपेटिका निसंक्रमण गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

यसै गरी मतदान स्थलमा अनिवार्य रुपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने जस्ता प्रावधानहरू उक्त स्वास्थ्य सुरक्षा मापदण्डमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ