- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गत २०७७ सालको जेठ २८ गते बसेको संसद बैठकमा कांग्रेस नेता एवम सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सार्वजनिक अभिब्यक्तिबारे खुबै आलोचना गरे । थापाले मात्र होइन उनको उक्त अभिव्यक्तिबारे सर्वत्र चर्चा र आलोचना भयो । सामाजिक संजालमा ओलीमाथि ब्यङ्य र उडाउने काम भयो ।
कोरोना भाइरसको संक्रमण दर नेपालमा तीब्र रुपमा बढीरहेका बेला ओलीले त्यसबेला भनेका थिए–नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ । कोरोना धेरै फैलिदैन् ।’ सोही अभिव्यक्तिलाई लिएर सांसद थापाले संसदमै प्रश्न उठाए । ‘प्रधानमन्त्री ज्यू, तपाइँलाई कसले भन्यो नेपालीको प्रतिरोधी क्षमता बलियो छ भनेर ?’
बैठकमा सवाल जवाफ नै चल्यो । गगनको प्रश्नलगत्तै ओलीले जवाफ फर्काएका थिए–भर्खरै सुन्नु भो नि मैंले भनेको । यो त मैले भन्या । नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्ने कुराको चुनौती कुनै डाक्टर, वैज्ञानिक, सोधकर्ता कहिबाट आयो भने मैंले स्वीकार गरौंला ।’
उनले आधा नेपाली, हिमाली भेगको स्वच्छ हावापानी र पहाडी, जनजीवनमा बसेकाले स्टामिना बलियो भएको दाबी गरेका थिए । त्यसपछि २०७७ असार ७ गतेको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै ओलीले उही बोली दोहोर्याउँदै रोग प्रतिरोध क्षमता राम्रो भएकैले नेपालमा कोरोना भाइरस संक्रमणबाट कम मृत्यु भएको बताएका थिए ।
उक्त अभिब्यक्तिको एक बर्ष नपुग्दै नेपालमा कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलियो । गतबर्ष भन्दा यसबर्ष स्थिति भयावह अवस्थामा छ । संक्रमणको शिकार भएर मृत्यु हुनेको संख्या ४५ सय नाघिसकेको छ । सक्रिय संक्रमितको संख्या चार लाख ५० हजारको हाराहारीमा छ ।
प्रष्ट प्रमाण र बैज्ञानिक तथ्यबिनै बोलेर गतबर्ष चर्को आलोचना खेपेको प्रधानमन्त्री ओली आइतबार उस्तै बोली दोहोर्याए । आइतबार वालुवाटारमा भएको कार्यक्रममा बोल्ने क्रममा उनले भने–मैंले के ठानेको थिएँ भने यस रुपमा नेपालमा कोभिड बढ्ला भनेर ठानेको थिइन् । हाम्रो इम्यून सिस्टम(प्रतिरोधी प्रणाली)धेरै स्ट्रोङ छ । अलि अलि सर्ला तर यो दरमा बृद्धि होला भन्ने थिएन ।’ उनले भने,‘ तरपनि इम्युन सिस्टमको काम छैन भन्ने होइन । जति मान्छे रिभाइभ भएका छन्, त्यसमा अवश्य पनि इम्युन सिस्टमको भूमिका हुन्छ ।’
प्रधानमन्त्री ओली प्रतिरोधी क्षमताका विषयमा दिएको अभिब्यक्तीबारे यसपाली आत्मालोचनाको संकेत गरेका छन् । गतबर्ष नैतिकता र जवाफदेहीता नभएको भनी ब्यापक आलोचना खेपेका उनले यसबर्ष संक्रमणको दर र मृत्यु हुनेको दरमा देखिएको बृद्धिका कारण अतालिएको जस्तो अभिव्यक्ति दिएका छन् । जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउनेबारे अझैपनि तथ्यपूर्ण अध्ययन गर्न सकेका छैनन् ।
के भनेका थिए ओलीले ?
प्रधानमन्त्री ओलीका अनुसार नेपालीको आहारविहार र हिमालबाट ठोक्किएर आएको हावाका कारण नेपालीको रोग प्रतिरोध क्षमता राम्रो छ । उकाली ओराली, परिश्रम गर्नेहरुको प्रतिरोध क्षमता बलियो हुने कुरा बैज्ञानिक भएको उनको दाबी छ ।
नेपालीहरुको भान्सामा पाउरोटीमा बटर दलेर खाने नभएको, दाल चामल, बेसार, नुन, प्याज लगातका औषधी हरेक दिन खाएकाले प्रतिरोधी क्षमता स्वयमसिद्ध भएको ओलीको दाबी छ । व्यायम, योगा पैदा भएको देशमा प्रतिरोधी क्षमता बलियो हुने साथै ट्रेडिसनल भान्छालाई निरन्तरा दिएकाले नेपालीहरु कोरोनासँग लड्न सक्षम रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीको उक्त अभिब्यक्तिको बारेमा संसदमा रहेका तत्कालिन नेकपा निकट सांसदहरुले टेबुल ठोकेर समर्थन गरेका थिए । त्यतिमात्र होइन आर्थिक वर्ष २०७७/८८का लागि सरकारले ल्याएको नीति तथा कार्यममा नेपालीको रोग प्रतिरोधी क्षमता बढाउने योजना पनि अघि सारेको थियो । तर त्यो योजनाले मुर्त रुप लिन सकेको छैन् ।