arrow

चीनबाट आएका अक्सिजन सिलिण्डर तातोपानी नाकामा आउनेक्रम शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
oxgen.jpg
तस्विर सौजन्य : विजय नेपाल

काठमाडौं । नेपालमा अक्सिजनको अभाव शुरु भएपछि खाली सिलिण्डर तिब्बतको खासा हुँदै तातोपानी नाका आउनेक्रम शुरु भएको छ ।

प्राप्त जानकारी अनुसार सोमबार तातोपानी नाकाबाट २५ सय सिलिन्डर नेपाल आइपुगेको छ । चीनबाट सोमबार नै नेपाल प्रवेश गरेका १० लिटर क्षमताको ती सिलिन्डर नेपा हिमा ट्रेड लिङ्कले आयात गरेको हो ।

आठवटा कन्टेनरमध्ये दुई वटामा अक्सिजन सिलिन्डर र एक वटामा माक्स लगायतको स्वास्थ सामाग्री नेपाल आइपुगेको हो । तातोपानी भन्सार कार्यालयका अनुसार अक्सिजन सिलिन्डर निजी क्षेत्रका आयातकर्ताले आयात गरेका हुन् । सिलिन्डर सोमबार रातिसम्म काठमाडौं आइपुग्नेछन् ।

स्वास्थ्य सामाग्री क्युमा पनि नराखिने र राजश्व पनि नलाग्ने भएकाले छिटै नै भन्सार प्रकृया पूरा गरेर पठाइने भन्सार कार्यालयले जनाएको छ । ‘तातोपानी नाकाबाट आज पहिलोपटक अक्सिजन सिलिन्डर नेपाल प्रवेश गरेको हो ‘ तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले भने,‘यसबाट नेपालमा फैलिएको कोरोना महामारीमा परेका जनताको स्वास्थ्य उपचारमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा  गरिएको छ ।’

कुल ७५ सय सिलिन्डर खरिद गरिएकोमा २५ सय सिलिन्डर आइसकेको र पाँच हजार सिलिन्डर खासामा आइपुगेको सिल्क ट्रान्सपोर्टले जनाएको छ । सिलिण्डरसहित स्वास्थ सामाग्री बोकेका ८० वटा कन्टेनर खासा आइपुगेको पनि सिल्क ट्रान्सपोर्टले जनाएको छ । सिलिण्डर र स्वास्थ्य सामग्री तातोपानी नाका आइपुग्न कम्तीमा दुई हप्ता लाग्ने बताइएको छ । (सिन्धुपाल्चोकबाट विजय नेपालको सहयोगमा)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ