arrow

नेपालमा कोरोना रोक्ने प्रयत्न

‘कोरोना रोक्नलाई म बाहेक सबै संक्रमित हुन सक्छन् भन्ने शंका गरेरै टाढा बसौं’ 

‘कोभिशिल्डको दोस्रो डोज तीन महिनामा लगाउने हो समयमै आइपुग्छ’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
dr-jageshwor-gautam.jpg

काठमाडौं । कोरोना भाइरसको औषधि अहिलेसम्म नआइरहँदा एकमात्र विकल्पको रुपमा प्रयोग गरिने कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा समयमै लगाउन नपाएर नेपालीहरु छट्पटिने बेला भइसकेको छ । गत फागुनमा दोस्रो डोज लगाएका ६५ वर्षमाथिका वृद्धवृद्धाका लागि भारतबाट ल्याउनु पर्ने कोभिशिल्ड खोप सरकारले अहिलेसम्म ल्याएको छैन । 

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम भने समयमै खोप लगाउन पाउने बताउँछन् । उनले भने, ‘कोभिशिल्डको दोस्रो डोज तीन महिनामा लगाउने हो समयमै आइपुग्छ ।’

उनले भारतपछि दक्षिण एसियामा नेपालले पहिलो पटक कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिँदै २१ लाख नेपालीले खोप लगाइसकेको पनि बताए । उनले थप स्पष्ट पार्दै भने, ‘दोस्रो डोजको खोप लगाउने समय तीन महिनासम्म खोप आइपुग्छ । ढुक्क हुनुस् ।’

उनले दिएको समय अनुसार पनि दोस्रो डोजको खोप लगाउन केही दिनमै भारतबाट आउन बाँकी १० लाख डोज कोभिशिल्ड आउनु पर्छ । तर भारतमै खोप पुगेको छैन । भारतमा आफ्नो देशका जनतालाई खोप नलगाई बाहिर बेचिएको भन्दै दिनहुँ विरोध भइरहेको छ । 

तर सरकारले भारतसँग यसअघि नै किनिसकेको खोपसमेत ल्याएन । एजेन्टमार्फत १० लाखको सट्टा महंगोमा ५० लाख खोप ल्याउने भनी रोकिएको सूचना पनि बाहिरियो । तर सरकारले भने कार्यान्वयन पक्ष फितलो बनाउँदा अहिलेसम्म खोप ल्याउन सकेको छैन । 

चीनबाट पनि थप भेरोसेल खोप ल्याउन सकेको छैन । 

किन कोरोना नियन्त्रणमा चुक्यो सरकार ? 
प्रवक्ता गौतम भने सरकारले कोरोना नियन्त्रणमा विशेष योजना बनाएर अगाडि बढेको बताउँछन् । उनले सरकारले सक्दो प्रयास गरेको बताएका छन् । दोष भने उनले जनतालाई नै दिएका छन् । उनले भोज भतेर गरेका कारणले गर्दा नै कोरोना समुदायमा फैलिएकोे दाबी गरेका छन् । 

तर सरकारलेसमेत स्वास्थ्य मापदण्डको ब्यापक उल्लंघन गर्यो । सरकार आफैले लगाएको नियमको पालना गरेन । जसका कारण कोरोनाले थप फैलिने अवसर पायो । 

डा. गौतम भन्छन्, ‘कसैले पनि मापदण्ड उल्लंघन गर्नु हुँदैन । भ्याक्सिन लगाउँदा ७० प्रतिशत मानिसलाई बचाउन सकिन्छ तर जबसम्म दूरी कायम गर्ने, मास्क लगाउने र सेनिटाइजरको प्रयोग गरिँदैन तबसम्म ज्यान जोगाउन सकिँदैन ।’

उनले कारोनाबाट बच्ने सूत्र पनि दिएका छन् । उनले भने, ‘म बाहेक सबै मान्छे पोजेटिभ हुन सक्छन् भन्ने जबसम्म महशुश गरिँदैन तबसम्म कोरोना फैलनलाई रोक्न सकिँदैन ।’

शंकाको दृष्टिले अर्को मान्छेलाई हेरेर टाढा रहनु नै अहिलेको सबैभन्दा महत्वपूर्ण सुरक्षाको उपाय हुने निष्कर्ष उनको हो ।   

उनले अहिले अक्सिजनको हाहाकारलाई केही दिनमा व्यवस्थित गरिने बताए । तर अक्सिजनले नै कोरोनाबाट बचाउन सकिन्छ भन्ने नरहेको स्पष्ट पारे । डा. गौतमले भने, ‘हामीले दिने अक्सिजन भनेको सहयोगी मात्र हो । औषधि होइन । सुरक्षित रहनु नै ज्यान जोगाउनु हो ।’

घरघरमा अक्सिजन लुकाएर हाहाकार देखाउन खोज्नु गलत भएको भन्दै डा. गौतम भन्छन्, ‘घरमा अक्सिजन लगाउने कुरा हानिकारक छ । त्यसो गरेर कोरोनाको उपचार गर्छु भन्नु गलत हो । नेताहरुले पनि त्यसो गर्नुभएको छ भने त्यो गलत हो । आफ्नो जिल्लामा अक्सिजन पुर्याउने सोच्नु भएको छ भने हामीले योजना बनाइरहेका छौं ।’ 

उनले भने, ‘मन्त्रालयले यसको व्यवस्थापन गरिरहेको छ । अहिले धेरै व्यवस्थापन भइसकेको छ । केही ठाउँमा फ्लो बढी भएकाले अझै कम रहेको छ । तीन चार दिनमै यसको समाधान हुन्छ ।’

प्रवक्ता गौतमले मनकारीहरुले हात अगाडि बढाएर उपचार र अक्सिजनको जोहो गर्नमा मद्धत गरेकोप्रति त्यति वास्ता गरेनन् । उनले भने, ‘सरकारले यति धेरै काम गरिरहेको छ । सरकारले केही गरेन भने कसले गर्यो त ? गरेको सरकारले मात्रै हो ।’

त्यसो त रेमडेसिभिर औषधि पनि प्रभावकारी देखिएको छैन । डा. गौतमले स्पष्ट पारे, ‘रेमडेसिभिर औषधिको प्रयोग पनि उपयुक्त नभएको विश्व स्वास्थ्य संगठनले भनिसकेको छ यसको प्रयोग नगर्नु भनेर ।’ 

नेपालमा कोरोनाको पछिल्लो अवस्था
कोरोनाबाट अहिलेसम्म नेपालमा ५ हजार २१५ जनाको ज्यान गइसकेको छ भने ४ लाख ६४ हजार २१८ जना संक्रमित भइसकेका छन् । 

३ लाख ४५ हजार ५२३ जनालाई मात्रै निको भएको छ । निको हुने दर घटेर ७४.४ प्रतिशत रहेको छ । 

हाल १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेका छन् । 

सोमबार मात्रै २१४ जनाको ज्यान गएको छ । ५ हजार ७६७ जनालाई निको भएको छ भने ९ हजार २४७ जना संक्रमित थपिएका छन् । 

जम्मा २२ हजार ८७ जनाको परीक्षणबाट यति धेरै संख्यामा संक्रमित थपिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ