arrow

जेठ २३ गतेभित्र नेपालमा खोप आइसक्नु पर्छ तर छैन कुनै सङ्केत

ज्येष्ठ नागरिकमाथि धोका हुने डर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
corona-vaccine-covid.jpg

काठमाडौँ । सरकारले गत फागुन २३ गतेदेखि चैत ४ गतेसम्म ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको भारतीय खोप कोभिसिल्डको पहिलो डोज लगाएको थियो ।त्यति बेला खोप लगाएका झन्डै साढे १४ लाख मानिसहरूलाई तीन महिनापछि जेठ २३ गतेदेखि दोस्रो डोज खोप लगाउनु पर्नेछ ।

यद्यपि, हालसम्म खोप भित्रिने कुनै शुभ सङ्केत भने देखिइएको छैन । तर पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने खोप आइसक्ने विश्वास व्यक्त गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले कोभिसिल्ड खोपको दोस्रो डोज पहिलो डोज लगाएको तीन महिनापछि लगाउनुपर्ने प्रावधान बनाएको प्रवक्ता डा. गौतमले बताए । तीन महिनापछि दोस्रो डोज लगाउँदा खोपको प्रभावकारिता राम्रो पाइएको हो ।

नेपालमा पहिलो चरणको खोप अभियानमा खोप लगाएका स्वास्थ्यकर्मीहरुले दोस्रो डोज तीन महिनापछि वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज पनि लगाइसकेका छन् ।

तर, दोस्रो चरणको खोप अभियानमा खोप लगाएका ज्येष्ठ नागरिकहरूलाई समयमै खोप लगाउने अवस्थामा हालसम्म सरकार पुगेको देखिँदैन ।

नेपालले भारतबाट खरिद गरेर आपूर्ति नभएको १० लाख डोज खोप र कोभ्याक्स सुविधा अन्तर्गतको झन्डै साढे तीन लाख डोज खोप आए दोस्रो लगाउन पुग्ने खोप शाखाका प्रमुख डा.झलक शर्माले बताए ।

यद्यपि हालसम्म भारतबाट खोप आउने नआउने यकिन भने भइसकेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गाैतमले खोप आउनै पर्ने भएका कारण जसरी पनि आउने दाबी गरेका छन् । तर, उनका अनुसार खोप आउने आधार अर्थात् भारतीय पक्ष र सरकारबीच ठोस वार्ता, सहमति भएको भने छैन ।

तर, खरिद सम्झौता भइसकेको खोपको पहिलो मात्रा दिइसकेको कारण दोस्रो मात्रा दिनै पर्ने भएका कारण खोप आउने प्रवक्ता डा.गौतमको भनाइ छ ।

खोप आउने प्रक्रिया सामान्य रूपले अघि बढिरहेका बेला बिचौलीयका कारण खोप भित्रिन नसकेको गुनासो समेत पछिल्लो समय आइरहेको छ । सरकारकै कुनै पक्षबाट शक्ति पाएको बिचौलिया सक्रिय हुँदा खोप भित्रिन नसकेको समाचारहरू समेत बाहिरिएका थिए ।

६५ वर्षमाथि संवेदनशील उमेर समूह एवं ज्येष्ठ नागरिकलाई खोप लगाउने विषयमा सरकारले कसेर अघि बढ्न नसक्नुलाई ज्येष्ठ नागरिक प्रतिकै अनादरका रूपमा समेत हेरिएको छ । यदि जेष्ठ नागरिकहरुले समयमा खोप लगाउन पाएनन् भने यो सरकारले उनीहरुमाथि गरेको ठुलो धोका हुनेछ । 

खोपका लागि केही एक महिनाअघि परराष्ट्र मन्त्रालयबाट समेत भारतलाई आह्वान गरिएको भए पनि खोप आउने विषयमा उपलब्धि हात लागेको छैन ।

जेठ २३ गतेदेखि ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउने हो भने अब, १८ दिन मात्रै बाँकी छ । यो समयावधिमा खोप नेपाल भित्रिएर फेरि स्थानीय तहसम्मका खोप केन्द्रमा खोप पुग्नु पर्ने छ । यद्यपि यसका लागि सरकारबाट हालसम्म कुनै उपलब्धि भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ