arrow

जसपामा अर्को विवाद सुरु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ ४ मंगलबार
jasapa-rajpa.jpg
फाइल तस्बिर

काठमाडौँ। अध्यक्ष द्वय महन्थ ठाकुर र उपेन्द्र यादवबिच ८ बुँदे सहमति भएपछि उत्साहित भएका जनता समाजवादी पार्टीका कार्यकर्ताहरू फेरि निराश भएका छन्। राजेन्द्र महतोलाई संसदीय दलको नेता मान्ने कि नमान्ने विषयमा मङ्गलवारदेखि जसपामा अर्को विवाद सुरु भएको छ।

८ बुँदे सहमति भएकै दिन ठाकुर पक्षले संसद् सचिवालयलाई चिठी लेखेर महतोलाई संसदीय दलको नेता चयन गरेको बताएको छ। यही वैशाख ३० गते बसेको संसदीय दलको बैठकले महतोलाई दलको नेता घोषणा गरिएको चिठीमा जनाइएको छ। चिठीमा महन्थ ठाकुरले मात्रै हस्ताक्षर गरेका छन्। यादवले हस्ताक्षर गरेका छैनन्। जब कि, जसपाको विधानमा दुई जना अध्यक्षको व्यवस्था गरिएको छ। दुई जना अध्यक्षले गरेको हस्ताक्षरलाई मात्रै मान्यता दिने व्यवस्था गरिएको यादव पक्षका नेताहरू बताउँछन्।

यादव पक्षका नेताहरूले संसद् सचिवालयमा चिठी आधिकारिक नभएको र नक्कली भएको दाबी गरेका छन् भने ठाकुर पक्षका नेताहरूले महतोलाई विधिसम्मत तरिकाबाट संसदीय दलको नेता चयन गरिएको बताएका छन्।

यादव पक्षका नेता इस्तियाक राईले ठाकुरले संसद् सचिवालयलाई पठाएको चिठी नक्कली र आधिकारिक नभएको दाबी गरे। तर ठाकुर पक्षका सांसद प्रमोद साहले भने सचिवालयमा पठाएको चिठी सक्कली र आधिकारिक भएको बताए।

यही जेठ ८ र ९ गते पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको छ। कार्यकारिणी समितिको बैठकमा यो विषयलाई जोडदारका साथ उठाउने तयारी यादव पक्षका नेताहरूले गरेका छन्। कार्यकारिणी समितिमा यादव पक्ष बहुमतमा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ