arrow

उपनिर्वाचनको मौन अवधिमा आचार संहित उल्लघंन भएकोप्रति आयोगको ध्यानाकर्षण

‘आचार संहिता विपरीतका गतिविधि स्वीकार्य हुँदैन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
election-commission1-1618997712.jpg

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको दुई रिक्त पदका लागि हुने उपनिर्वाचनको मौन अवधिमा आचार संहित उल्लघंन भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

२०७८ साल जेठ ६ गते बिहीबारका दिन सम्पन्न हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाउँदै आयोगले आचार संहित पालना गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता राजकुरमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यस निर्वाचन प्रयोजनका निर्वाचन आचार संहिता यही जेठ ३ गते राती १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भई सकेकाले निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने जनाएका छन्

‘यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, एसएमएस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न गराउन सम्वद्ध सबैसँग आयोगले हार्दिक अनुरोध गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीररुपमा ध्यानाकर्षण भएको छ ।’

निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका  क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयताप्रति आघात पर्ने आयोगको ठहर छ ।

‘एकातर्फ आयोगले निर्वाचन आचार संहिता कडाइका साथ लागूगर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफैं आचार संहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन । अतः निर्वाचन आचार संहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानून बमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले बागमती प्रदेशतर्फको उपनिर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै विहीबार अपिल जारी गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ