arrow

'नेपालमा अत्यधिक सङ्क्रमण फैलिनुमा नयाँ भेरिअन्ट जिम्मेवार'

११० देखि १२० प्रतिशत बढी संक्रामक हुनसक्ने अनुमान

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ जेठ ५ बुधबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं। नेपालमा पछिल्लो समय कोभिड१९ को अत्यधिक सङ्क्रमण फैलिनुमा नयाँ पाइएको भेरिअन्ट बी.१.६१७.२ जिम्मेवार रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

सुरुमा भारतमा देखिएको यो भेरिअन्टको सङ्क्रमण ८ बर्षदेखि ८५ बर्षसम्मका व्यक्तिहरुमा देखिएको छ । यो भेरिअन्ट बेलायती भेरिअन्ट भन्दा ४० देखि ५० प्रतिशत बढी सङ्क्रामक रहेको ईडीसीडीका प्रमुख डा. कृष्ण पौडेलले बताएका छन् । बेलायती भेरिअन्टको भाइरस (बी.१.७) सुरुमा देखिएको कोरोना भाइरस भन्दा ७० प्रतिशत बढी सङ्क्रामक पाइएको थियो ।

नेपालमा हिजो एक भेरिअन्ट थप भएसँगै तीन भेरिअन्ट फैलिएका छन् । जुन बेलायती भेरिअन्ट (बी.१.७), सुरुमा भारतमा देखिएको भेरिअन्ट जसलाई सुरुतिर भारतीय भेरिअन्ट समेत भनिएको थियो (बी.१.६१७.२) र भारतीय डबल म्युटेन्ट भेरिअन्ट भनेको (बी.१.६१७.१) भेरिअन्ट हुन्।

अहिले पूर्व झापादेखि पश्चिम दार्चुलासम्म बी.१.६१७.२ भेरिअन्टको सङ्क्रमण अत्यधिक रहेको डा. पौडेलले बताए। भारतमा सिक्वैन्सिङका लागि पठाइएका ३५ नमुनामध्ये ३४ मा बी.१.६१७.२ भेरिअन्ट नै सङ्क्रमण भएको पाइएको छ। भने एक नमुनामा बी.१.६१७.१ पाइएको छ।

यसअघि नेपालमा बेलायती भेरिअन्टको सङ्क्रमण अत्यधिक रहेको थियो। त्यतिबेला ईडीसीडीले १५ नमुना परीक्षणका लागि पठाउँदा १४ मा बेलायती भेरिअन्ट र १ मा मात्रै डबल म्युटेन्ट  बी.१.६१७.१ पाइएको थियो। 

कति खतरनाक छ  बी.१.६१७.२
सबै उमेर समूहमा अत्यधिक सङ्क्रामक पाइएको बी.१.६१७.२ भेरिअन्टलाई मे १० मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मे १० मा विश्वव्यापी चिन्ताको भेरिअन्टका रूपमा घोषणा गरिसकेको छ।

सुरुको कोरोना भाइरसको स्वरूप भन्दा ७० प्रतिशत बढी सङ्क्रामक रहेको बेलायती भेरिअन्टभन्दा यो बी.१.६१७.२ भेरिअन्ट ४० देखि ५० प्रतिशत बढी सङ्क्रामक रहेको प्रारम्भिक अध्ययनहरूले देखाएका छन्। यसबाट सुरुको भाइरस भन्दा बी.१.६१७.२ भेरिअन्ट ११० देखि १२० प्रतिशत बढी संक्रामक हुनसक्ने अनुमान गरिएको छ।

बढी प्राणघातक छ भन्ने विषयमा भने अहिलेसम्म यकिन तथ्याङ्कहरू आइनसकेको डा. पौडेलले बताए। यद्यपि, बढी सङ्क्रामक हुँदा बढी मानिसहरू संक्रमित हुने र बढी मानिस अस्पताल भर्ना हुँदा बढी मानिस गम्भीर सङ्क्रमित हुने र बढी मानिसले ज्यान गुमाउने सहजै अनुमान गर्न सकिन्छ।

त्यसै कारण अहिले भारत र नेपालभर यो भेरिअन्टले विकराल रूप लिएको छ। बी.१.६१७.२ भेरिअन्ट नेपाल र भारतसहित ३१ वटा मुलुकहरूमा फैलिसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। यो भेरिअन्ट फैलिएका देशहरूमा सङ्क्रमण पनि बढी रहेको छ।

केही दिन अघि भारतीय खोजकर्ताहरूले यही (बी.१.६१७.२) भेरिअन्टका कारण अत्यधिक सङ्क्रमण फैलिएको हुनसक्ने अध्ययन सार्वजनिक गरेका थिए। पर्याप्त अनुसन्धानहरू नभइसके पनि प्रारम्भिक अनुसन्धानबाट बी.१.६१७.२ भेरिअन्ट बढी सङ्क्रामक रहेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ