arrow

ठाकुर-यादवको झगडामा महतको प्रवेश

‘प्रधानमन्त्री बन्ने अवस्था आएमा महतोले ठाकुरजीलाई संसदीय दलको नेता छाड्नु हुन्छ'

महतोलाई दलको नेताबाट ब्याक गर्न यादव पक्षको प्रयास

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ ५ बुधबार
jasapa-rajpa.jpg
फाइल तस्बिर

काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच सुरु भएको विवादमा मङ्गलवारदेखि राजेन्द्र महतोको प्रवेश भएको छ। महतोको प्रवेश पछि जसपामा तीन धारको जन्म भएको छ। यद्यपि, यादव पक्षधर नेताहरू महतोलाई संसदीय दलको नेताबाट पछि हट्न प्रयास गरेका छन्। 

यसका लागि यादवले पूर्व राजपाका अध्यक्ष मण्डलका सदस्य द्वय अनिल झा र राज किशोर यादवलाई आग्रह गरेका छन्। राज किशोरले टेलिफोनबाटै महतोलाई सम्झाएको स्रोतले दाबी गर्‍यो। महतो भने आफ्नो अडानबाट पछि हटेका छैनन्। महतो निकट जसपाका सांसद प्रमोद साहले महतोलाई विधिसम्मत तरिकाबाट संसदीय दलको नेता बनाइएको बताउँदै यसमा महतो पछि हट्ने सम्भावना नरहेको बताए।

‘प्रधानमन्त्री बन्ने अवस्था आएमा उहाँ (महतो) ले ठाकुरजीलाई संसदीय दलको नेता छाड्नु हुन्छ। त्यो अवस्था बाहेक महतो जी नै दलको नेता हो’साहले भने ‘यसबाट उहाँ पछि हट्ने अवस्था छैन।’

यादव पक्षका नेताहरू भने महतोलाई दलको नेता चयन गरेको भन्दै संसद् सचिवालयमा पठाएको चिठी नक्कली भएको दाबी गरेका छन्। संसद् सचिवालयमा ठाकुर र यादवले छुट्टाछुट्टै चिठी पठाएका छन्। ठाकुरले महतोलाई दलको नेता चयन गरिएको जानकारी गराउँदै चिठी पठाएका छन् भने यादवले कसैलाई पनि दलको नेता चयन नगरिएको दाबी गर्दै अर्को चिठी पठाएका छन्।

स्रोत भन्छ, ठाकुरले यस्तो ब्यहोराको चिठी संसद् सचिवालयमा पठाउन लागेको सुइँको पाए पछि यादवले त्यस्तो चिठी पठाउनु अघि नै सचिवालयमा चिठी पठाएका थिए। कसको चिठीलाई आधिकारिकता दिने भन्ने अर्को विवाद सुरु भएको छ। जसपाको विधानमा दुई अध्यक्षको व्यवस्था गरिएको छ। दुई अध्यक्ष मध्ये एकले गरेको हस्ताक्षरलाई मान्यता दिन सक्ने भन्ने ब्यहोरा विधानमा लेखिएको छैन।

ठाकुर र यादवले मङ्गलवार ८ बुँदे सहमति गरे लगत्तै ठाकुरले संसद् सचिवालयलाई चिठी पठाएर महतोलाई संसदीय दलको नेता चयन गरिएको दाबी गरेका छन्। यसबाट ८ बुँदे सहमति धरापमा परेको यादव पक्षका नेताहरू बताउँछन्। ८ बुँदे सहमति कार्यान्वयन गर्न महतो दलको नेताबाट पछि हट्नु यादव पक्षीय नेताहरूको अडान छ।

महतोलाई संसदीय दलको नेता मानेमा ८ बुँदे सहमति कार्यान्वयन हुन नसक्ने यादव पक्षका एक कार्यकारिणी समितिका सदस्यले बताए। ठाकुर निकट एक नेता भन्छन्, ‘दलको नेताबाट महतो आफैँ पछि हट्नु भयो भने हामीलाई केही फरक पर्दैन। तर तपाई दलको नेताबाट पछि हट्न होस भनेर कसरी भन्न मिल्छ र ?’

वैशाख ३० गते भक्तपुरेको डोलेश्वरमा ठाकुर महतो पक्षधर सांसदहरूले बैठक गरी महतोलाई दलको नेता चयन गर्ने निर्णय गरेका थिए। जसपाले यही वैशाख ८ र ९गते कार्यकारिणी समितिको बैठक बोलाएको छ। उक्त बैठकमा यसबारेमा गम्भीर छलफल हुने यादव पक्षीय नेताहरू बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ