- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको एक सिटका लागि उपनिर्वाचन अन्तर्गत धमाधम मतदान जारी छ ।
यो उपनिर्वाचनमा सत्तारुढ एमालेबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ उम्मेदवार छन् । उनले सूर्य चिन्हबाट चुनाव लडेका छन् । यस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमाले भित्रकै माधव नेपाल समूहबाट डा.खिमलाल देवकोटा उम्मेदवार छन् । उनले कलम चिन्ह पाएका छन् ।
जारी मतदानमा अहिलेसम्म ३१० मत खसिसकेको बताइएको छ । र यो निर्वाचन सकिएपछि आउने परिणामलाई सबैले चासोका साथ हेरिररहेका छन् ।
सत्तारुढ दलका तथा गृहमन्त्री नै निर्वाचनमा उम्मेदवार रहेकाले पनि यो उपनिर्वाचनलाई चासोका साथ हेरिएको हो ।अर्कोतर्फ उनी केही समयअघि मात्रै एमाले बनेकालेसमेत उनलाई यो निर्वाचन आगामी राजनीतिक यात्राका लागि भविश्य तय गर्ने बाटोका रुपमा समेत लिइएको छ ।
संघीयताका विषयमा विज्ञ मानिएका अर्का उम्मेदवार देवकोटालाई पनि यो निर्वाचनले आगामी राजनीतिक यात्राको लागि हारेपनि वा जिते पनि अगाडी बढ्नका मार्ग प्रसस्त गर्ने बताइन्छ ।
तर, बादल यो निर्वाचनमा पराजित भए भने उनको एमाले भित्रको नयाँ यात्रामा अप्ठ्यारो उत्पन्न हुने धेरैको बुझाइ छ । एक त उनी भर्खरै एमालेमा प्रवेश गरेकालेसमेत उनको एमाले भित्रको स्थान तय भइसकेको छैन । अर्कोतर्फ चुनाव हार्दै गर्दा उनलाई झनै अप्ठ्यारो हुने विश्लेषण गर्न थालिएको छ ।
केही समयअघि मात्रै बादलले आफ्नो पूर्व दल माओवादी केन्द्र छाडेपछि उनी नै सदस्य रहेर रिक्त भएको पदमा उपनिर्वाचन भएको हो ।त्यसकारण पनि यो निर्वाचनमा माओवादी उनका बिरुद्ध नै होमिएको छ ।
हाल बादल प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् । तर, एमाले भित्र उनलाई नरुचाउने समूह पनि ठूलो बनिसकेको छ । त्यसकारणसमेत निर्वाचन जित्दा बादललाई एमाले भित्रको राजनीतिमा प्रभाव जमाउन जति सहज हुन्छ निर्वाचनमा पराजित हुँदै गर्दा बादललाई त्यती नै सकस हुने एमालेका नेताहरु बताउछन् ।
जारी मतदानको समय ३ बजेसम्म तय छ । मतदानको समय सकिन अब केही बेर मात्रै बाँकी छ । र सम्भवतः आज साँझसम्म नै परिणाम पनि सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । परिणाम आएलगत्तै बादल र देवकोटाको आगामी नयाँ बाटो तय हुनेछ ।