- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दै यसको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्ने बताएका छन् ।
गत मंगलबार ठाकुर र यादववीच भएको ८ बुंदे सहमति अनुसार ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिएको यादवले बताए । ‘हामीले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छौ’, यादवले भने । महन्थलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन गर्छन् त भन्ने जिज्ञासमा उनले भने, ‘समर्थन जुटाउनको लागि हामीले कांग्रेस र माओवादी केन्द्रसँग कुरा गर्छौ ।’
ठाकुर र राजेन्द्र महतो पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमत जुटाउन समर्थन गरे भने के हुन्छ त भन्ने जिज्ञासमा यादवले भने, ‘ओलीको चाहना आफ्नो नेतृत्वमा बहुमत जुटाउनु भन्दा पनि संसद विघटन गर्न खोजको देखिन्छ ।’
ठाकुर र महतो पक्षले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलमा ठाकुर महतो पक्ष र उपेन्द्र यादव पक्ष बराबरी संख्यामा छन् । तर ठाकुर–महतो पक्षका एक नेताले उपेन्द्र यादव पक्षका ३ सांसद आफूतिर आइसकेको दावी गरेका छन् । आफूतिर आएका सांसदहरुको बारेमा भने उनले नाम खुलाउन चाहेनन् ।
यता प्रधानमन्त्री ओलीले वैकल्पिक सरकार बनाउन बहुमत पुग्न नदिनको लागि ठाकुर र महतो पक्षसँग भेटघाट र कुराकानीलाई तीव्र बनाएका छन् ।
ठाकुरलाई फकाउनको लागि जसपाले राखेका माग ओलीले आंशिक पूरा गरेका छन् । ठाकुर र महतो पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिने सम्भावना रहेको ठाकुर निकट एक नेताले बताए ।
मंगलबार ठाकुर र यादववीच भएको ८ बुँदे सहमतिमा जसपा तत्काल सरकारमा नजाने, राष्ट्रिय नेतृत्वको सरकार या जसपाको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा सरकार गठनको लागि अग्रसर हुने सहमति गरिएको छ ।
उक्त सहमति अनुसार अव जसपाले सरकारको नेतृत्वको लागि पहल गर्नु पर्ने यादव पक्षका नेताहरुको भनाइ छ ।