arrow

नेपाल उद्योग वाणिज्य महासङ्घको स्वास्थ्य सहायता अभियानबाट धेरैलाई राहत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
fncci-building-123.jpeg
फाइल तस्बिर

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड सङ्क्रमित बिरामीहरूको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड१९ सहायता केन्द्रबाट हालसम्म धेरै सङ्ख्यामा बिरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएका छन्। महासङ्घले सञ्चालन गरेको स्वास्थ्य अभियानबाट सङ्क्रमित बिरामी, तिनका परिवार र आफन्तहरू सहित धेरैलाई राहत पुगेको महासङ्घले जनाएको छ।

ज्येष्ठ ६ गतेसम्मको तथ्याङ्क अनुसार हेल्लो डाक्टर स्वास्थ्य परामर्श कार्यक्रमबाट साँढे ५ सय भन्दा बढी कोभिड सङ्क्रमित बिरामीहरूले डाक्टरहरूबाट स्वास्थ्य परामर्श र सहायता केन्द्रबाट करिब २ सय ५० जनाले आवश्यक स्वास्थ्य सहायता लिएका छन्। वैशाख २६ बाट सुरु भएको हेल्लो डाक्टर मार्फत भइएको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले बिरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन्।

कोभिड सहायता केन्द्रबाट गम्भीर प्रकृतिका बिरामीहरूदेखि भर्खर कोभिड सङ्क्रमण भएका सम्मले सहयोगका लागि आग्रह गर्ने गरेका छन्। केन्द्रकारतर्फबाट हालसम्म डेढ वर्षको बच्चा देखि ८९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई सेवा दिइएको महासङ्घले बताएको छ।

सहायता केन्द्रले वैशाख २४ गतेबाट काम थालेको थियो। केन्द्रमा दैनिक सरदर १६/१७ जनाले सहयोगका लागि आग्रह गर्ने गरेका छन्। केन्द्रमा मुलुकका सबै भागबाट सहयोगका लागि आग्रह भई आएको छ।

मुलुकमा बढ्दो कोभिड१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्‍याउने उद्देश्यले हेल्लो डाक्टर र कोभिड सहायता केन्द्र स्थापना गरिएको हो। सहायता केन्द्रबाट अस्पताल-आइसोलेसन केन्द्र सहजीकरण, अक्सिजन सिलिन्डर, अस्पताल, एम्बुलेन्स, हवाई तथा यातायात व्यवस्थापन लगायतमा सहयोग-समन्वय भइरहेको छ।

कोभिड सङ्क्रमण जटिल हुँदै गई अस्पताल जान समस्या परेकालाई नजिकको अस्पतालसम्म पुर्‍याउन, अस्पतालमा अक्सिजन सहितको आइसियु, भेन्टिलेटर बेड पाउन समस्या परेका, अक्सिजन सिलिन्डर भर्न समस्या परेका, अक्सिजन सहितको सिलिन्डर, आइसोलेसन केन्द्र, रेम्डेसिभर लगायतका अत्यावश्यक औषधि नपाएका र डाक्टरको परामर्श खोजिरहेकाहरूलाई केन्द्रबाट सहयोगको पहल भएको छ।

एम्बुलेन्स सहयोग खोज्नेका लागि व्यवस्थापन गरिदिने, अस्पतालमा भेन्टिलेटर, आइसियु सहितको बेड नपाउनेहरूका लागि सकभर नजिकको अस्पतालमा व्यवस्थापन गरिदिने, प्लाज्माको लागि पहल गरिदिने, अक्सिजन नपाएकालाई अक्सिजनको प्रबन्ध गरिदिने, रेम्डेसिभर लगायतका अत्यावश्यक औषधि खोजेकालाई सकभर नजिकको स्थानबाट त्यस प्रकारका औषधि किन्ने प्रबन्ध मिलाई दिने, कोभिड सङ्क्रमण भई घरमा बस्ने ठाउँ नपाएका निम्न आय भएका परिवारका सदस्यलाई खानपान र औषधिको उचित व्यवस्था सहितको आइसोलेसन केन्द्र मिलाई दिने, डाक्टरहरूसँग स्वास्थ्य परामर्शको उचित व्यवस्थापन गरिदिने लगायतको कार्यमा सहायता केन्द्र जुटिरहेको छ।

आइसोलेसन नपाएकाहरूलाई महासङ्घले आफैले क्षेत्रपाटी र कमलपोखरीमा सञ्चालन गरेको आइसोलेसन केन्द्रमा राख्ने प्रबन्ध मिलाई रहेको छ भने स्वास्थ्य परामर्शका लागि महासङ्घ आफैले सञ्चालनमा ल्याएको हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिइरहेको छ।

महासङ्घले सञ्चालन गरेको आइसोलेसनका लागि महासङ्घका वर्तमान तथा पूर्व पदाधिकारीहरू, कार्यकारिणी समिति सदस्यहरू, उद्यमी व्यवसायीहरूले औषधि, स्वास्थ्य उपकरण-सामग्रीहरू सहयोग गरेका छन्।

कोभिडको दोस्रो लहरको सङ्क्रमण अत्यधिक बढ्न जाँदा मुलुकको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने भएपछि आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा केही सहयोग गर्न सकियोस् भनेर महासङ्घले कोभिड सहायता केन्द्र स्थापना गरेको हो।

महासङ्घका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सहायता केन्द्रको समन्वय महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरिरहेका छन्। कोभिड१९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी पनि बाँडफाँड गरिएको छ।

जस अनुसार अक्सिजन सिलिन्डर व्यवस्थापनतर्फ महासङ्घका उपाध्यक्ष रामचन्द्र संघई र कार्यकारिणी समिति सदस्य सौरभ ज्योति, अस्पताल आइसोलेसन केन्द्र सहरीकरणतर्फ कार्यकारिणी समिति सदस्य हेमराज ढकाल, पूर्व कास रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ई. देश बन्धु बस्नेत (अजित), बाबुकाजी कार्की, डा. केयूर गौतम र एम्बुलेन्स व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य रंजितराज आचार्यले समन्वय गरिरहेका छन्। 

त्यसै गरी औषधि मेडिकल उपकरणतर्फ कार्यकारिणी समिति सदस्यहरू प्रवलजंग पाण्डे र भक्त बहादुर हमाल, होटेल, हवाई तथा यातायात व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ज्योत्सना श्रेष्ठ, होटेल सङ्घ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, पर्यटन समितिका सदस्य विनोद सापकोटाले समन्वय गरिरहेका छन्। सचिवालयकारतर्फबाट अधिकृत द्वय हरि पौड्याल र रिंकु घिमिरेले सहयोग गरिरहेको महासङ्घले जनाएको छ।

मुलुक सङ्कटमा पर्दा महासङ्घले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पुर्‍याउँदै आएको छ। मुलुकले कहिल्यै भोग्नु नपरेको कोभिड महामारी कहिले नियन्त्रणमा आउने हो यकिन छैन। महामारीको बढ्दो सङ्क्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यति बेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासङ्घले सबैमा गम्भीर आग्रह गरेको छ। 

महासङ्घले सञ्चालन गरेको स्वास्थ्य अभियानप्रति विभिन्न माध्यममार्फत व्यक्त केही महत्त्वपूर्ण धारणाहरू :

सन्देश श्रेष्ठ, व्यवसायी
“सामाजिक रूपमा पनि सकारात्मक सन्देश जानेकोसाथै सामाजिक उत्तरदायित्व पनि निभाउन सकेकोमा जिल्ला उद्योग वाणिज्य सङ्घहरू र उद्यमी व्यवसायीहरूले गर्वको महसुस गरेका छौँ।”
अखिल चापागाईँ, पूर्व कार्यकारिणी समिति सदस्य, नेउवामहासंघ
“महासङ्घको यस अभियानको ह्रृदय देखिनै प्रशंसा गर्दछु। वास्तवमै यो अभियानबाट समस्यामा परेकाहरूले निकै ठुलो राहतको महसुस गरेका छन्।”
अशोककुमार टेमानी, पूर्व कार्यकारिणी समिति सदस्य, नेउवामहासंघ
“उत्कृष्ट सहकार्य। यो वास्तवमै उद्धार हो। महान् कार्यका लागि आभार। महासङ्घ टिमलाई बधाई। ”
राजन श्रेष्ठ, कार्यकारिणी समिति सदस्य
“अति नै सराहनीय कार्य, निजी क्षेत्र सधैँ नाफामुखी मात्र हुँदैन। हरेक सामाजिक अभियानमा पनि सदैव अग्रसर रहने गरेको छ भन्ने दह्रिलो उदाहरण हो यो।”
उमेशलाल श्रेष्ठ, निवर्तमान उपाध्यक्ष, नेउवामहासंघ
“यो महान् कार्यमा लागिरहेको सिङ्गो टिम नै बधाईका पात्र हुनुहुन्छ। सामूहिक प्रयासबाट गरिएको काम सधैँ सफल हुन्छ। तपाईँहरूको सुरक्षालाई ध्यानमा राखेर सहयोगका हात अगाडि बढाउनुहोस्।”
भवानी राणा, निवर्तमान अध्यक्ष,नेउवामहासंघ
“महासङ्घले थालेको अभियानको जहाँ त्यही हरेकले उच्च प्रशंसा गरेका छन्। यसमा लग्नुहुने महासङ्घको नेतृत्व र यसमा सहभागी सबै बधाईका पात्र हुनुहुन्छ।” 
शेखर गोल्छा, अध्यक्ष, नेउवामहासंघ
“वरिष्ठ उपाध्यक्षको नेतृत्वमा रहेको यो टिमको कार्य देखेर मलाई गर्व महसुस हुन्छ। तपाईँहरूको प्रयास यसरी नै अन्तिमसम्म पनि जारी रहोस् मेरो तर्फबाट पूर्ण सहयोग र साथ रहने छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ