कर्जा विस्तार बढाउन राष्ट्र बैंकको नयाँ रणनीति, मौद्रिक नीति सार्वजनिक हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
63
Shares
काठमाडौँ। बैंकिङ प्रणालीमा थुप्रिएको १४ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी परिचालन गर्दै सरकारले लिएको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने गरी नेपाल राष्ट्र बैंकले यस वर्ष लचिलो मौद्रिक नीति ल्याउने भएको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ।
व्यवस्थापन समितिले नीतिका मुख्य विषय टुंग्याइसकेको छ भने सञ्चालक समितिबाट स्वीकृत भएपछि आज साँझ वा भोलि बिहान सार्वजनिक गर्ने तयारी गरिएको छ ।
यस पटकको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी नियामकीय व्यवस्था समावेश नगरिने भएको छ।
त्यस्ता व्यवस्था आवश्यकताअनुसार राष्ट्र बैंकले छुट्टै निर्देशनमार्फत संशोधन गर्ने भएकाले मौद्रिक नीतिमा मौद्रिक उपकरण तथा समष्टिगत आर्थिक व्यवस्थापनसँग सम्बन्धित विषयलाई मात्र प्राथमिकता दिइने स्रोतले जनाएको छ ।
हाल बैंक तथा वित्तीय संस्थाहरूमा १४ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम भए पनि निजी क्षेत्रबाट कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन।
ब्याजदर ऐतिहासिक रूपमा न्यून तहमा झरे पनि कर्जा विस्तार सुस्त रहेकाले अर्थतन्त्रमा अपेक्षित चलायमानता आउन सकेको छैन ।
यही अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले कर्जा प्रवाहलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रको लगानी विस्तारलाई सहज बनाउने उद्देश्यसहित लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको हो।
यसले उत्पादन, उद्योग, व्यापार र पूर्वाधार क्षेत्रमा लगानी बढाएर आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ।