arrow

ठाकुर पक्षीय सांसद भन्छन् : महन्थलाई प्रधानमन्त्री बनाउन काँग्रेस-माओवादीले संस्थागत निर्णय गरे भने हामी अघि बढ्छौ

logo
आकाश शर्मा,
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
mahanth-Thakur.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। जनता समाजवादी पार्टीका महन्थ ठाकुर निकट एक सांसदले नेपाली काँग्रेस र माओवादी केन्द्रले संस्थागत निर्णय गरी ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गरे भने आफूहरू त्यसमा अघि बढ्ने बताएका छन्।

ठाकुर निकट सांसद उमाशङ्कर अरगरैयाले यस्तो धारणा राखेका हुन्। उनले भने,‘ठाकुरलाई प्रधानमन्त्री बनाउने चर्चा पोलिटिकल स्टन्ट मात्र हो। भित्री रूपमा काँग्रेसले पनि चाहँदैन। माओवादीले पनि चाहँदैन।’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ठाकुरलाई प्रधानमन्त्री बनाउन नचाहेको उनले दाबी गरे। उनले भने,‘यदि ठाकुरलाई प्रधानमन्त्री बनाउन चाहेको भए अहिलेसम्म नेपाली काँग्रेस र माओवादीबाट संस्थागत प्रस्ताव आउनु पर्थ्यो। तर बाहिर हल्ला गर्ने काम मात्र भयो।’

अहिले ठाकुर र राजेन्द्र महतो पक्षीय सांसदहरूले सिहंदरवार स्थित पूर्व राष्ट्रिय जनता पार्टी कार्यालयमा संसदीय दलको बैठक गरिरहेका छन्। पहिलो चरणको बैठक सकिएको छ। पहिलो चरणको बैठक सकेर सांसदहरूलाई चिया खानको लागि समय दिइएको अरगरैयाले बताए। उनका अनुसार पहिलो चरणको बैठकमा ठाकुरले बिहीबार राती प्रधानमन्त्रीसँग गरिएको वार्ताबारेमा ब्रिफिङ गरेका थिए। जसपाले राखेका माग प्रधानमन्त्रीले पूरा गर्न लागेको र केही माग पूरा गरेको ठाकुरले जानकारी गराएका थिए।

बिहीबार मध्यरातमा प्रधानमन्त्री ओली,ठाकुर र महतोले राष्ट्रपति विद्या भण्डारीलाई भेटेका थिए। उक्त भेटमा राष्ट्रपतिलाई साक्षी राखेर ओली र ठाकुर पक्षबिच सहमति भएको स्रोतले बतायो। स्रोतका अनुसार सरकार गठनको विषयमा समेत छलफल भएको थियो।

बिहीबार राती प्रधानमन्त्रीसँग भएको भेटमा प्रधानमन्त्रीले सरकारमा आउन ठाकुरलाई आग्रह गरेको अरगरैयाले बताए। उनले भने,‘प्रधानमन्त्रीले हामीलाई सरकारमा आउन आग्रह गर्नु भएको छ। अहिलेको बैठकमा सरकारमा जाने नजाने विषयमा निर्णय गरेका छैनौ। अर्को बैठक यसबारेमा निर्णय गर्छौ।’

ठाकुर निकट नेता डा.सुरेन्द्र झाले प्रधानमन्त्रीले जसपाका माग पूरा गर्न प्रक्रिया सुरु गरेको बताउँदै आफूहरूले प्रधानमन्त्रीलाई साथ दिने बताए। ठाकुर पक्षले बोलाएको संसदीय दलको बैठकमा उपेन्द्र यादव पक्षका सांसदहरूलाई जानकारी गराइएको छैन।

उपेन्द्र यादव पक्षका सांसदहरूले उक्त बैठकबारेमा आफू अनविज्ञ भएको बताउँछन्। उपेन्द्र यादवले अहिले आफू निकट नेता तथा सांसदहरूसँग आन्तरिक छलफल सुरु गरेका छन्। जसपा अहिले फेरि दुई कित्तामा बाँडिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ