arrow

एनसेलद्वारा सरकारी अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
ncell-csr-doh.jpg

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले यस कोरोनाभाइरस रोग (कोभिड १९) को सङ्क्रमणले ल्याएको महामारीको जोखिम कम गर्न सरकारलाई सहयोग गर्दै आफूले हस्तान्तरण गर्ने १५० थान भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो लट शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

कोभिड–१९ विरुद्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले १५० थान भन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कोरोनाभाइरस रोगबाट सङ्क्रमित बिरामीहरू जसको रगतमा अक्सिजन लेबल कम हुन्छ त्यस्ता बिरामीहरूका लागि अक्सिजन एक आधारभूत मेडिकल आवश्यकता हो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रवार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन्। कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्ला स्तरीय अस्पतालहरूमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिने छन्।

“एनसेलबाट आएको यो अक्सिजन कन्सन्ट्रेटर्स सहयोगको हामी कदर गर्दछौँ। अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितिमा यी कन्सन्ट्रेटर्सले जीवन बचाउन एकदमै ठुलो महत्त्व राख्दछ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने। “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत आएको यो सहयोगले गम्भीर बिरामी भई श्वासप्रश्वास प्रणालीमा समस्या झेलिरहका मानिसको जीवन बचाउन योगदान दिनेछ र साथै जिल्ला स्तरका अस्पतालहरूको चिकित्सा पूर्वाधार विकासमा सहयोग पुर्‍याउने छ।”

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, “देशका जनताहरूलाई सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिदैं यस महामारीको समयमा अमूल्य जीवन बचाउन सहयोग पुर्‍याउने हेतुले हामी अस्पतालहरूलाई १५० थान भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्दैछौं। एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा महामारी सुरु भए लगतै गत वर्ष हामीले सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गर्‍यौँ।

कोभिड प्रतिकार्य अन्तर्गत नै हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि सुरु गरिसकेका छौँ। यसले चौबीसै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेसन बसेका सबैलाई दिनहुँ स्वास्थ्य परामर्श प्रदान गर्दछ।” 

एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोनगरी कोरोनाभाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइन मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिन्छ। साथै धुलिखेल अस्पतालमा स्थापना भएको हटलाइनको कल सेन्टरले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई दैनिक निःशुल्क स्वास्थ्य परामर्श पनि प्रदान गर्दछ।

यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत छ । अत्यावश्यक सेवा प्रदायक र जिम्मेवार कर्पोरेट नागरिकको नाताले हामी नेपालभरका लाखौँ ग्राहक, साझेदार र कर्मचारीको सुस्वास्थ्य सुनिश्चित गर्न प्रतिबद्ध छौँ । यस कठिन परिस्थितिमा सबै नागरिकलाई स्वच्छ÷स्वस्थ रहन र भौतिक दूरी कायम राख्न आग्रह गर्दछौँ ।

यस विषम परिस्थितिमा ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले डेटा प्याकमा बोनस, वर्क फ्रम होम प्लानहरू, डिजिटल प्लेटफर्मबाट सेवाहरू खरिद गर्दा बोनस डेटा, सापटी सेवामा थप विकल्पहरू, जस्ता विभिन्न राहत प्याकहरू ग्राहक कालागि ल्याएको छ । यसले अत्यावश्यक सञ्चार सेवा माथिको पहुँच अझै सरल तथा सुलभ बनाउन योगदान गर्दछ । 

आफ्ना कर्मचारी कल्याणका लागि सञ्चालित अभियान अन्तर्गत, एनसेलले यस कठिन समयमा आफ्ना कर्मचारीहरूलाई विशेष होम केयर सहयोग पनि प्रदान गर्दै आएको छ । यस सहयोग अन्तर्गत कम्पनीले इमरजेन्सीका बेलामा काठमाडौँ भित्र र जिल्लामा रहेका कर्मचारीहरूलाई तत्काल अक्सिजन कन्सन्ट्रेटर्स, ह्वील चेयर र स्टेचर उपलब्ध गराउँदछ । यसका साथै कम्पनीले आफ्ना कर्मचारीहरूलाई मास्क, स्यानिटाइजरको व्यवस्था गर्नुका साथै उनीहरूलाई आवश्यक परेको खण्डमा औषधीहरू घर—घरमै डेलिभरी गरिदिने व्यवस्था पनि गरेको छ । कम्पनीले डाक्टर तथा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई भर्चुअल सेसन मार्फत कोभिड—१९ को लक्षण, बच्ने उपाय तथा त्यसको उपचार, फोक्सोको कार्य सुधार गर्ने तथा शरीरमा तनावको स्तर कम गर्ने विविध विषयमा कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । 

एनसेलको सामाजिक पहल अन्तर्गत एनसेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सँगको सहकार्यमा गत वर्ष देखिनै कोरोभाइरसबाट बच्ने जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिबृद्घिका सन्देशहरू विभिन्न माध्यमहरूबाट प्रवाह गर्दै आएको छ। सन् २०२० मा एनसेलले कोभिड प्रतिकार्य अन्तर्गत कोरोनाभाइरस सङ्क्रमण रोकथाम,  नियन्त्रण तथा उपचार कोषमा रु १० करोड योगदान सहित गरी रु ९.७० अर्ब बराबरको सेवा, सुविधा र योगदान पुर्‍याएको थियो।

कोरोनाको दोस्रो लहरले सिर्जना गरेको कठिन परिस्थितिमा आफ्ना ग्राहकहरूको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरूलाई सहजै सम्पर्कमा रहिरहन सघाउन एनसेलले प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरू, र एनसेल सापटीमा विभिन्न थप सुविधा लगायतका राहत अफरहरू प्रदान गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ