arrow

निर्वाचन आयोगले सरकारलाई भन्योः  निर्वाचनको वातावरण बनाउ

सकेसम्म एकै चरणमा निर्वाचन गर्न प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
election-commission1-1618997712.jpg

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई निर्वाचन गर्ने वातावरण मिलाउन आग्रह गरेको छ । आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सकेसम्म एकै चरणमा निर्वाचन गर्ने गरी अघि बढ्न पनि सुझाएको छ ।

प्रधानमन्त्री ओलीसँग केहीबेरअघि प्रधानमन्त्री निवास वालुवाटारमा आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र सचिवसहितको छलफल भएको थियो । छलफलमा सहभागी प्रमुख आयुक्त र आयुक्तहरुले दुई चरणमा निर्वाचन गर्दा साधन स्रोत बढी लाग्ने तथा जनशक्ति दुई पटक परिचालन गर्नुपर्ने कारण देखाउँदै सकेसम्म दुई चरणमा नभइ एकै चरणमा निर्वाचन गर्ने वातावरण मिलाउन सुझाएका हुन् ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगको काम नै निर्वाचन गर्ने भएकाले आयोग जुनसुकै समयमा पनि निर्वाचन गर्न तयार रहेको र तोकिएको समय पर्याप्त रहेकोसमेत बताए । उनले प्रधानमन्त्रीलाई सकेसम्म एकै पटक निर्वाचन गर्ने गरी वातावरण मिलाउन नभए अगाडी नै कुन जिल्लामा कहिले गर्ने हो प्रष्ट पार्न आग्रह गरिएको बताए । 

‘आयोगको काम नै निर्वाचन गर्ने हो, जुनसुकै समयमा पनि निर्वाचन गर्न आयोग तयार छ हामीले यही भनेका छौं, प्रधानमन्त्रीलाई सकेसम्म एकै चरणमा निर्वाचन गर्ने गरी वातावरण मिलाउन हामीले आग्रह पनि गर्यौ, नभए कुन जिल्लामा कहिले गर्ने हो समयमा नै प्रष्ट पार्न आग्रह गरेका छौं,’ प्रमुख आयुक्त थपलियाले हाम्राकुरासँग भने ।

सो क्रममा प्रधानमन्त्री ओलीले भने निर्वाचनका लागि आवश्यक साधन स्रोतको व्यवस्थापनमा सरकारले कुनै कमी हुन नदिने बताएको आयोगले जनाएको छ । प्रधानमन्त्री ओलीसँग आयोगले निर्वाचनका लागि केही कानुनी जटिलता रहेकाले त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराइएको जनाएको छ । प्रधानमन्त्री ओलीले कानुनी विषयलाईसमेत सरकारले सहज बनाइदिने आश्वासन आयोग पक्षलाई गराएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति घोषणा भइसकेको छ । आयोगसँगको छलफलमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल र पूर्व महान्यायाधिवक्ता अग्नि खरेल सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ