arrow

एमालेको कार्यदल अघोषित रूपमा भङ्ग, नयाँ दल दर्ताका लागि नेपाल समूहको राजनीतिक प्रतिवेदन तयार

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ ८ शनिबार
oli-nepal-singhadurbar-meet.jpg
फाइल तस्बिर

काठमाडौँ। एमाले विवाद समाधान गर्न बनेको कार्यदल अघोषित रूपमा भङ्ग भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका समूहका एक नेताका अनुसार विवाद मिलाउने भन्दै अबको कार्यदल बस्नुको औचित्य समाप्त भएको भन्दै कार्यदल भङ्ग भएको बताएका छन्।

शुक्रवार बसेको कार्यदल बैठकमा सदस्यहरूबिच मत विभाजन र नेपाल समूहका नेताहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको विषयमा प्रश्न उठेपछि ओली पक्षका नेताहरूले बैठक अनिश्चितकाका लागि स्थगित गरेर हिँडेका थिए। कार्यदलमा पार्टीको दुवै पक्षले फरक फरक अडान राखेपछि शुक्रवारको बैठक विना निष्कर्ष टुङ्गिएको थियो।

अर्को बैठकको मितिसमेत नतोकिएका कारण अनिश्चित कालसम्मका लागि बैठक स्थगित भएको थियो। सिंहदरबारमा बसेको कार्यदलको दोस्रो बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सदस्यहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर सार्वजनिक रूपमा फिर्ता लिन माधव नेपाल पक्षका नेताहरूसँग आग्रह गरेपछि त्यहाँ विवाद भएको थियो।

बैठकमा विवाद भएपछि ओली समूहका नेताहरूले बैठक बस्नुको अर्थ छैन विवाद एकातिर काम अर्कातिर भएपछि बैठक गरेर विवाद मिलाउनुको के अर्थ हुन्छ भन्दै नेपाल समूहका नेताहरूले हस्ताक्षर गरेको विषय जोडतोडका साथ विरोध गरेका थिए। उनीहरूले हस्ताक्षर फिर्ता लिएपछि मात्रै अन्य विषयमा छलफल गर्ने अडान राखेका थिए। 

कार्यदलको बैठक सकिएपछि दुवै पक्षका नेताहरूले आफ्नै तरीकाले सार्वजनिक टिप्पणी गरेका भए पनि अब मिराकल भए मात्रै ओली–नेपाल मिल्न सक्ने भएकाले विवाद समितिको बैठक बसिरहनुको औचित्य नभएको बताउन थालेका छन्। शनिवार मात्रै ओली पक्षले बाग्मती प्रदेशका १४ सांसदलाई कारबाहीका लागि स्पष्टीकरण सोधेको छ।

रामबहादुर थापा बादललाई राष्ट्रिय सभा निर्वाचनमा हराउन भूमिका खेलेको भन्दै ओली पक्षले नेपाल पक्षका १४ जना सांसदलाई स्पष्टीकरण सोधेको हो। ओलीले क्रमशः अब अन्य नेताहरूलाई पनि कारबाही गर्ने तयारी गरेका छन्। ओलीका विरुद्धमा हस्ताक्षर गरेका माधव नेपालले प्रतिनिधि सभा विघटन भएपछि शनिवार बिहानै प्रतिगमन भाग–२ भएको टिप्पणी गरेका थिए। 

‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो। शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ। यो प्रतिगमन भाग २ हो।

केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !’ उनले भनेका थिए। त्यसपछि उनी लगातार विपक्षी गठबन्धनको बैठकमा सहभागी भएका छन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहितको बैठकले संसद् विघटनविरुद्ध अदालत जाने निर्णय समेत भैसकेको अवस्थामा नेपाल अब एमालेभित्रै रहने सम्भावना करिब करिब सकिएको छ। 

एमाले कार्यदलका सदस्य मध्ये भीम रावलले पार्टीभित्रै रहने सम्भावना निकै कम रहेको भन्दै आज शनिवार सुदूरपश्चिमका नेताहरूसँग पनि छलफल गरेका थिए। जुम बैठकमा उनले अब एमालेभित्र रहन सक्ने अवस्था करिब करिब सकिएकाले के गर्ने भन्ने बारेमा छलफल भइरहेको बताएका थिए। नेपाल समूहले नयाँ दल दर्ताका लागि भीम रावल र बेदुराम भुसालले राजनीतिक प्रतिवेदन समेत तयार पारिसकेको अवस्थामा रावलले सुदूरपश्चिमका नेताहरूसँग छलफल गरेको स्रोतको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ