arrow

विपक्षी दलले बोलाए नागरिकतासहित १ सय ४९ सांसद,  आइतबार सर्वोच्च अदालत जाने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
deuba-prachanda-yadhav.jpg

काठमाडौं। प्रतिनिधि सभा विघटनका विरुद्ध उभिएका नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका पाँच दलले प्रधानमन्त्री पदका लागि राष्ट्रपति समक्ष दाबी पेश गर्दा विपक्षी गठबन्धनमा उभिएका सांसदहरूलाई नागरिकतासहित बोलाएका छन् । 

 काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र-बाबुरामसमूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चासमेतका गरी विपक्षी गठबन्धनमा उभिएका १४९ जना सांसदलाई नागरिकतासहित हाजिर हुन भनिएको छ । कांग्रेस सांसद भीमसेनदास प्रधानले आइतबार १२ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा नागरिकतासहित बोलाइएको जानकारी दिए । ‘

आइतबार १२ बजे संसदीय दलको कार्यालयमा नागरिकता लिएर आउनु भनिएको छ,’ सांसद प्रधानले भने । माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठलेसमेत नागरिकता सहित सबै सांसदलाई बोलाइएको बताइन् । 

‘सबै सांसदलाई नागरिकतासहित बोलाइएको छ, हामी नागरिकता लिएर जान्छौँ, त्यहाँबाट सर्वोच्च अदालत जाने कुरा छ,’ श्रेष्ठले हाम्राकुरासँग भनिन् । जसपा सांसद प्रदीप यादवले पनि आफूहरु नागरिकतासहित आइतबार सर्वोच्च अदालत जाने बताए । शनिवार दिउसो बसेको विपक्षी पाँच दलको बैठकले प्रतिनिधि सभा विघटनका विरुद्ध राजनीतिक र कानुनी लडाइमा उत्रने निर्णय गरेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा राष्ट्रपति विद्यादेवी भण्डारीले बदनियतपूर्ण किसिमले प्रतिनिधि सभाको विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको विपक्षी दल आबद्ध गठबन्धनको निष्कर्ष छ ।

 ‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भई राजनीति र कानुनी रूपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौँ ।’ बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ