arrow

निरंकुश मानसिकता

सरकार कोरोना नियन्त्रणभन्दा आफ्नो बचाउतिर, संसद विघटनको विरोध रोक्न निषेधाज्ञामा कडाइ

अटेर गर्नेलाई एक वर्ष कैद वा पाँच लाख जरिवाना वा दुवै सजाय 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
nisedhagya-nepaljung.jpg
तस्वीर–फाइल ।

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी रोक्ने बहानामा देशभर निषेधाज्ञामा कडाइ गर्न निर्देशन दिएको छ । अहिलेसम्म निषेधाज्ञा पनि वाध्यता सम्झेर गरेको सरकारले अहिले आएर संसद विघटनको विरोधमा देशैभर विपक्षीहरु सडकमा उत्रने ठानेर निषेधाज्ञामा कडाइ गर्न निर्देशन दिएको हो । 

गृह मन्त्रालयले शनिबार ७७ वटै जिल्लामा निषेधाज्ञामा कडाइ गर्न सर्कुलर जारी गरेको छ । गृहसचिव महेश्वर न्यौपानेले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको कडाइका साथ कार्यान्वयन गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका हुन् । 

निषेधाज्ञा कार्यान्वयनमा वाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्नसक्ने व्यवस्था गरिएको छ । सोही अनुसार कार्यान्वयन गर्न मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले निरंकुश मानसिकता बोक्दै दोस्रो पटक संसद विघटन गरेको छ । संसद विघटन गर्नुअघि यो अवस्था आउन सक्ने भन्दै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशमार्फत राजनीतिक विरोधसमेत रोक्ने योजना सरकारको हो । 

यसअघि नै स्वास्थ्य संकटकाल लगाउन विपक्षीले आग्रह गर्दा समेत अटेर गरेका ओलीले आफू विरुद्धको आवाज दबाउन भने अध्यादेश ल्याएर निरंकुश मानसिकता प्रदर्शन गरेको आरोप लागेको छ । 

यसअघि निषेधाज्ञा लगाउन पनि स्थानीय सरकारको जिम्मा दिने ओली सरकारले अहिले भने विरोध रोक्नका लागि ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको हो । 

अध्यादेश बमोजिम दिइएको आदेश उल्लंघन गरे प्रमुख जिल्ला अधिकारीले तत्काल जरिवाना गर्न सक्नेछन् । मास्क नलगाएको व्यक्तिलाई प्रहरीले पटकैपिच्छे एक सय रुपैयाँ, आवतजावत बन्द उल्लंघन गर्दा दुई सय रुपैयाँ, अनुमति बिना सवारी चलाए दुई पाङ्ग्रे सवारीलाई दुई हजार र अन्य सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्न सक्ने प्रहरीले जनाएको छ । 

त्यसैगरी अध्यादेश विपरीत काम गर्ने संस्था वा व्यवसायलाई सजायसँगै प्रजिअले छ महिनासम्म बन्द गरिदिन पनि सक्ने बताइएको छ । 

विपक्षी दलका नेताहरुले भने यो अध्यादेशमार्फत रोक्न खोजिएको विरोधका स्वरलाई पूर्व राजा ज्ञानेन्द्र शाहको भन्दा पनि अझ क्रुर भनी आक्रोश पोखेका छन् । 

सरकारले कोरोना नियन्त्रणलाई पैसा छैन भने पनि चुनाव गर्नका लागि भने जति पनि खर्च गर्ने मानसिकता बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ