arrow

नागरिकता कानुनको स्वागतमा मधेशका प्रमुख सहरहरूमा दीपावली

प्रभु साहको क्षेत्रमा अझ उत्साह, साँढे ५ लाखले नागरिकता पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
citizen-act-province-2-welcome.jpg

काठमाडौँ। नागरिकता सम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुसीयालीमा मधेशका प्रमुख सहरहरूमा दीपावली गरिएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेपछि लाखौं नागरिकता विहीन नेपाली युवा लाभान्वित हुने भन्दै मधेशमा दीपावली गरिएको हो।

प्रदेश २को राजधानी जनकपुर, राजविराज, लहान र गौर लगायतका सहरहरूमा आइतबार साँझ दीपावली गरिएको हो। नागरिकता कानुनको पक्षमा लबिङ गर्दै आएका निवर्तमान सहरी विकास मन्त्री एवम् नेता प्रभु साहको निर्वाचन क्षेत्रको विभिन्न ठाउँमा पनि उत्सवको रूपमै दीपावली गरिएको हो।

नेता साहको निर्वाचन क्षेत्र रौतहट–३ को कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, मौलापुर नगरपालिकाको वडा वडामा दीपावली गरिएको हो। यसबाहेक रौतहट सदरमुकाम गौर, राजदेवी, बौधीमाईलगायतका स्थानहरूमा दीपावली गरिएको हो।

यस्तै नागरिक समाजका अगुवाहरूले जनकपुर, राजविराज, लहानमा पनि मैनबत्ती प्रज्वलन गरी दीपावली मनाए। जनकपुरमा सिताराम यादव र लहानमा नागेन्द्र यादवको नेतृत्वमा समाजका अगुवाहरूले दीपावली गरेका छन् भने सप्तरीमा राष्ट्रिय एकता अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साहको अगुवाइमा दीपावलीको आयोजना गरिएको थियो।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र निवर्तमान मन्त्री प्रभु साहले निरन्तर नागरिकताको समस्या समाधान गर्नका लागि सङ्घर्ष गरेर विजय हासिल गरी जनतालाई खुसी बनाएकोमा दीपावली गरेको स्थानीयले बताएका छन्। नेपाल नागरिकता अध्यादेश प्रमाणीकरण भएसँगै अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउनेछन् भने बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने छ। अध्यादेशसँगै अब विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्नु नपर्ने भएको छ।

गत असार ७ गते नागरिकता विधेयकबारे तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयको ठाडो विरोधमा नेकपाकै नेता प्रभु साह उभिएपछि सो विधेयक रोकिएको थियो।

समाजवादी जनता पार्टीले पनि सरकारसँगका वार्ताहरूमा सो विषय निरन्तर उठाउँदै आइरहेको थियो। सरकार र जसपाबीच वार्ता सकारात्मक रूपमा बढेपछि आइतबार सरकारले अध्यादेशमार्फत मधेशको सरोकार सम्बोधन हुने गरी नागरिकसम्वन्धी अध्यादेश ल्याएको हो। यस अध्यादेश पछि करिब साढे ५ लाख वञ्चित युवाले नागरिकता प्राप्त गर्ने आङ्कलन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ