arrow

अक्सिजन प्लान्ट बनाउन पत्रकारहरुले दिए अस्पताललाई ६० लाख रुपैयाँ 

logo
रमेश विश्वकर्मा,  
प्रकाशित २०७८ जेठ ११ मंगलबार
fnj-gulmi-oxygen-plant.jpg

गुल्मी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले अस्पताललाई  ६० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि पत्रकार महासंघले गुल्मी अस्पताललाई ६० लाख हस्तान्तरण गरेको हो ।

अस्पतालका डा. उत्तम पच्यालाई नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल सहितको टोलीले एक कार्यक्रमकाबीच सोमबार ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । पत्रकार महासंघ गुल्मी शाखाले जिल्लामा अक्सिजनको अभाव नहोस् भनेर बैशाख २५ गतेदेखि जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सहयोग अभियान संचालन गरेको थियो । 

सोही सहयोग अभियानमार्फत संकलित ६० लाखको चेक गुल्मी अस्पतालमा अक्सिज प्लान्ट स्थापना गर्नका लागि प्रदान गरिएको हो । जिल्लामा बिरामीहरुले अक्सिजन नपाएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आउन थालेको भन्दै यसअघि महासंघले पाँच लाख रुपैयाँ बराबरको २० वटा ठूला भरिएका अक्सिजन सिलिन्डर अस्पताललाई प्रदान गरिएको थियो ।

जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमित बिरामीहरुको संख्या वृद्धि हुँदै गएको सन्दर्भमा सिलिन्डर भर्न लगायत विभिन्न समस्याहरु आउने भएकाले अक्सिजन प्लान्ट स्थापना नै उत्तम भएको भन्दै अभियान संचालन गरिएको शाखा अध्यक्ष अर्यालले बताए । देश तथा बिदेशबाट करिब ७२ लाख रुपैयाँ संकलन भएको नेपाल पत्रकार महासंघ गुल्मी शाखाले जनाएको छ । 

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि नेपाल सरकारको एक करोड रुपियाँ विनियोजन भएको छ । यस्तै जिल्लामा पाँच बेडको आईसीयू संचालन गर्नका लागि पनि दुई करोड रुपैयाँ विनियोजन भएको छ । 

नेपाल पत्रकार महासंघ गुल्मीबाट प्राप्त रकम र नेपाल सरकारको एक करोड रुपैयाँलाई एकमुष्ट राखी निर्माण कार्य अगाडि बढाइने डा.पच्याले जानकारी दिए । 

६० लाख रुपैयाँको चेक ग्रहण गर्दै पच्याले पत्रकार महासंघ गुल्मीले देशमै नमूना कार्य गरेको भन्दै धन्यवाद ब्यक्त गरे । नेपाल पत्रकार महासंघ गुल्मीको अभियानले सार्थकता पाएको भन्दै जति सक्दो छिटो अक्सिजन प्लान्ट स्थापना गर्नका लागि अस्पताल विकास समिति लाग्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ