arrow

ओली सरकारलाई बढार्दै कानुनी राज स्थापनाको लागि माधव नेपालको अपिल

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ जेठ ११ मंगलबार
madhav-kumar-nepal_1617970427.jpg

काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएपछि नेता माधवकुमार नेपालले ओली सरकारलाई बढार्दे मुलुकमा कानुनी राज स्थापना गर्ने दायित्व बढेको बताएका छन् । एमालेले पार्टीबाट निष्कासन गरेपछि पहिलो पटक औपचारिक रूपमा अपिल जारी गर्दै उनले ओली गरेको कारबाही अर्थहीन रहेको समेत बताएका छन् । आफूहरूमाथिको निष्कासनको कारबाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको भन्दै ओली सरकारलाई बढारेर मुलुकमा कानुनी राज स्थापना गर्न आह्वान समेत गरेका छन् । 

नेपालले मङ्गलवार अपिल जारी गर्दै भनेका छन्, ‘हामीमाथि कानुनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।’

नेपालले सिङ्गो कम्युनिस्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभार युगले आफूहरूलाई सुम्पेको दाबी गरेका छन् । नेपालसहित ११ जना विघटित संसद्का सदस्यलाई एमालेले साधारण सदस्य नरहने गरी सोमवार निष्कासन गरेको थियो । नयाँ दल खोल्न लागेका नेपालले व्यक्तिगत रूपमा र सामूहिकरुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेको पनि बताएका छन् ।

नेता नेपालको अपिल (पूर्णपाठ)

कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता – नेपालका कम्युनिष्ट पार्टी एक हुन्, कम्युनिस्ट आन्दोलन एक र सशक्त होस् , जनजीविका ,जनताका हित,स्वार्थ र सरोकार तथा सुशासन का सवालमा तथा समाजवाद उन्मुख काम गरुन् भन्ने चाहन्छन् । तर, जनअपेक्षा विपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरूको उक्साहटमा सिङ्गो ‘नेकपा’ लाई विभाजन गर्ने काम फत्ते गरे । त्यसपछि सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्ता पंक्तिको माग विपरीत एकाधिकारवादी शैलीमा पार्टीलाई चलाउने काम भयो । जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस-नहस गर्ने अभियान त्यही बिन्दुबाट शुरु गरेर कथित कारबाही र निष्कासनमा आएर पूरा भएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिङ्गो कम्युनिष्ट आन्दोलन विसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेका छन् ।

केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेका छन् । कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरू उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दुखद पक्ष हो ।ओली सरकारको हर्कत र विवादित पक्षहरु तपाईँ हामीबीच छर्लङ्ग छ ।ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुग्यो।निष्ठावान्, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरूले राज गरे ।यसविरुद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्रहार भयो ।अहिले ओली गुटले गरेको कथित कारबाही वा निस्काशन त्यसैको प्रतिरुप हो ।

यसबीचमा मैले व्यक्तिगत रुपमा र सामूहिकरुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेँ । ओलीले पार्टीलाई गम्भीर मोडमा र सङ्कटपूर्ण अवस्थामा पुर्‍याए भनेर आम जनसमुदाय र नेता कार्यकर्ताबीच पुर्‍याए ।पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरें । तर सत्ता,शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरु मनन गरेनन् ,वास्ता गरेनन् बरु प्रतिशोध साँध्ने काम मात्र गरे १ त्यही कारण आम जनता, नेता-कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो ।

मनोगत आधारमा र स्वेच्छाचारी ढङ्गले सरकार चल्दा र जनअपेक्षा अनुरूप काम नहुँदा निराशा बढ्यो ।जस्तो कि राज्यका विभिन्न निकायले कोरोनाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगतरुपमा ठट्टाको विषय बनाए। ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न सकेन । हजारौंको ज्यान जाने अवस्था बन्यो । सिङ्गो जनताप्रति यो भन्दा ठूलो अपराध अरु हुन सक्दैन ।

आजको दिनसम्म आइपुग्दा जनसाधारण समेत केपी ओलीले नेपाली जनता, निष्ठावान् नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिङ्गो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेका छन् भन्दै प्रतिरोधमा उत्रिने अवस्था बनेको छ ।यसैबीच कमरेड जे।एन। खनाल, म, क। मुकुन्द न्यौपाने, क। भीम रावल सहित ११ जना माथि कार्वाही भन्दै पार्टी सदस्यबाट समेत निष्कासन गर्ने कार्य गरिएको भनिएकोमा उक्त कार्बाही औचित्यहीन, अनधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु । त्यसैले अब हामी माथि कानूनी , राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ । अब सिङ्गो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईँ हामीलाई सुम्पेको छ ।ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपील गर्दछु ।



नयाँ