arrow

२५६५औँ बुद्ध जयन्तीमा सुनसान लुम्बिनी 

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७८ जेठ १२ बुधबार
lumbini.jpg

कपिलवस्तु । बुधवार परेको २५६५औँ बुद्ध जयन्ती लाई कोरोनाले गर्दा मनाउन समस्या परेको छ । लुम्बिनीमा सुनसान रहेको छ । हजारौँको सङ्ख्यामा दिवसमा पूजापाठ र घुम्न आउने पर्यटकलाई गत वर्ष र यो वर्ष कोरोनाले असर पारेको छ ।

दिवसमा केवल पूजापाठ तथा दीप प्रज्वलन गरी मनाइएको छ । बिहान सबै गुम्बा, विहारको प्रतिनिधित्व हुने गरी बुद्ध जन्मस्थल लुम्बिनीमा परित्राण पाठ गरिएको छ। मायादेवी मन्दिर परिसरमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रीको सन्देश वाचन गरिएको छ। 

पूजापाठमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल सहभागी छन्। यस्तै साँझ कोरोना निवारण र सङ्क्रमितको स्वास्थ्य लाभको कामनासहित दीप प्रज्वलन गरिने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयाले बताए। उनका अनुसार कोरोनाले देशमा ठुलो क्षति गराएकाले यो वर्ष बुद्धलाई स्मरण गरी सीमित उपस्थितिमा पूजापाठ गरी बुद्ध जयन्ती मनाउन सुरु भएको हो।

गत वर्ष पनि कोरोना महामारीकै कारण बुद्ध जयन्ती पूजापाठमा मात्र सीमित भएको लुम्बिनी क्षेत्र विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले जानकारी दिए। विगतका बुद्ध जयन्तीमा राष्ट्रप्रमुख, विदेशी कूटनीतिज्ञहरूको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेको थियो।

नेपाल सहित भुटान, थाइल्यान्ड, म्यानमार, मङ्गोलिया, कम्बोडिया, श्रीलङ्का, लाओस्, कोरिया, जापान, चीनलगायतका देशमा बुद्ध जयन्ती मनाउने परम्परा छ । गौतम बुद्धको २५६५ वर्षअघि हालको लुम्बिनी जन्म भएको थियो। कोरोनाका कारण गत वर्षदेखि नै यहाँ पर्यटक आउन सकेका छैनन्। 

अन्तर्राष्ट्रिय पर्यटकहरू लुम्बिनी आउने सिजनमै कोरोना महामारी बढ्ने र लकडाउन हुने गरेकाले पर्यटक आवागमन शून्य भएको लुम्बिनी विकास कोषले जनाएको छ। दिवसको अवसरमा गुम्बा विहारमा दीप प्रज्वलन गरेर मात्र कपिलवस्तु र नवलपरासीमा पनि मनाइदैछ । स्थानीय वासी पनि कोरोनाको कारण लुम्बिनी गएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ