- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। सरकारमा जान जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले सर्वोच्च अदालतको सम्भावित प्रारम्भिक निर्णय कुरेको छ। ठाकुर निकट स्रोतले दिएको जानकारी अनुसार अदालतले सुरुमै पुन:स्थापनाको पक्षमा या सरकारको विपक्षमा परमादेश या अन्तरिम आदेश गर्यो भने ठाकुर पक्ष सरकारमा नजाने भएको छ। तर अदालतमा बहस लम्बिँदै गई निर्णय गर्न एक दुई महिना लाग्ने अवस्था आयो भने ठाकुर महतो पक्ष सरकारमा जाने भएको छ। त्यसकालागि कम्तीमा यो हप्ता (शनिबारे)सम्म कुर्ने निष्कर्ष ठाकुर पक्षले निकालेको छ।
‘सर्वोच्चले अन्तरिम आदेश या परमादेश जारी गरेन भने अर्को हप्ता सरकारमा जाने निश्चित छ’ ठाकुर पक्षका एक नेताले भने,‘त्यसकालागि करिब करिब सबै तयारी पूरा भएको छ ।’ उनले आफ्नो नाम खुलाउन चाहेनन् । सरकरमा पठाउनको लागि प्रारम्भिक सूचि समेत तयार भएको ठाकुर पक्षको भनाइ छ ।
सरकारमा जाने निश्चित भए पछि यादव पक्षका ५ जना सांसदले कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका छन् । यद्यपि संसद् विघटन भएको अवस्थामा गैर सांसदलाई पनि मन्त्री बनाउने छुट प्रधानमन्त्रीलाई छ । तर ठाकुरले सकेसम्म सांसदलाई मात्रै सरकारमा पठाउने तयारी गरेका छन् । गैर सांसद बाहिरबाट सिफारिस भयो भने सर्बेन्द्रनाथ शुक्ल या उमाकान्त झा मात्र हुने छन्, स्रोतले बताएको छ ।
प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनु अघि यादव पक्षका दुई सांसद विमल श्रीवास्तव र उमाशङ्कर अरगरैयाले कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका थिए । हाल यादव पक्षका अरू तीन जना सांसद रुही नाथ, कल्लुदेबी विश्वकर्मा र रेणुका गुरुङले कित्ता परिवर्तन गरेका छन् । कित्ता परिवर्तन गरेकाहरूलाई मन्त्री बनाउनु पर्ने दबाब ठाकुरलाई छ ।
यादव पक्षका ५ जना सांसदले कित्ता परिवर्तन गरे पछि संसदीय दलमा ठाकुरको पक्षमा २० र यादव पक्षमा १२ जना सांसद मात्र छन् । बहुमत सांसदको आधारमा ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको हो ।
कार्यकारिणीमा बहुमत जुटाउन अशोक राई सँग कुरा गर्दै ठाकुर
यसैबिच, ठाकुर पक्षले कार्यकारिणी समितिमा बहुमत पुर्याउन यादव पक्षका कार्यकारिणी समितिका केही सदस्यहरूसँग कुराकानी अघि बढाएको छ । यसकोलागि अशोक राईसँग समेत गम्भीर कुराकानी भइरहेको स्रोतले दाबी छ । राई निकट रेणुका गुरुङले यसअघि नै कित्ता परिवर्तन गरी ठाकुर पक्षमा गएकी छन् । हाल कार्यकारिणी समितिमा यादव पक्ष बहुमतमा छ । ५१ सदस्यीय कार्यकारिणीमा २८ जना सदस्य यादवको पक्षमा छन् ।
यदि राईले कित्ता परिवर्तन गरे भने राई र राई निकट नेताहरू ठाकुर तीर जाने छन्। त्यस बेला कार्यकारिणीमा पनि ठाकुरको पक्षमा बहुमत पुग्ने ठाकुर पक्षीय नेताहरूको विश्लेषण छ । अहिले एकले अर्कोलाई स्पष्टीकरण सोध्ने होडबाजी सुरु भएको छ । तर दुवै पक्षले स्पष्टीकरण दिएका छैनन् । आफ्नो पक्षलाई वैधानिक देखाउनको लागि कार्यकारिणी समितिमा बहुमत जुटाउन दुवै पक्ष सक्रिय छन् ।
यादव पक्षका कार्यकारिणी समितिका सदस्यहरू कित्ता परिवर्तन गरेनन् भने बहुमत यादवको पक्षमै हुनेछ । तर ठाकुर पक्षले मन्त्री दिने लोभ देखाएको छ, जसबाट कार्यकारिणीमा पनि केही सदस्यहरूले कित्ता परिवर्तन गर्ने सम्भावना रहेको स्रोतले बतायो ।