arrow

वामदेव मौन, आफन्त र कार्यकर्ता यता र उता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
bamdev_g.JPG
फाइल तस्बिर

काठमाडौँ। कुनै बेलाका चर्चित र शक्तिशाली नेताको रूपमा देखिएका वामदेव गौतम अहिले मौन देखिएका छन् । नेकपा (एमाले) औपचारिक रूपमा विभाजन हुने अवस्था आएपछि उनी मौन देखिएका हुन्।

तत्कालीन नेकपा विभाजित भएपछि पार्टी एकता राष्ट्रिय अभियानको संयोजक रहेका वामदेव गौतम कतै पनि नलागी बसेका छन् । दुई साता अघि एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक रहेका गौतमले नेता माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेमा साथ दिने घोषणा गरेका थिए। 

गौतमले एमाले पार्टीमै समानान्तर गतिविधि गर्ने नेता नेपाल पक्षको कार्यलाई साथ नरहने तर पार्टी विभाजन गरेमा साथ रहने जनाएका थिए । ‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर यदि उहाँहरूले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ उनले भनेका थिए।

माधव नेपाल समूह पार्टीबाट निष्कासन भएसँगै नयाँ दल गठनको तयारीमा लागेका छन् । उनीहरूले गौतमलाई पनि नयाँ दलमा सहभागी गराउने प्रयास गरिरहेका छन् । उता ओलीले पनि गौतमलाई कारबाही नगरी बसेका छन् । तर गौतमले ओलीलाई साथ नदिने बताइसकेका छन् । 

नयाँ दलमा गौतमको जिम्मेवारी के हुने भन्ने बारेमा कुनै टुङ्गो छैन । उनी माधव नेपालको अध्यक्ष हुँदा उपाध्यक्ष हुन्छन् वा समानान्तर अध्यक्ष दाबी गर्छन् त्यो केही खुलेको छैन । गौतम निकट स्रोतका अनुसार नेपाल समूहले गठन गर्ने दलमा उनी सहभागी हुने तयारीमा छन् यद्यपि उनले केही बोलेका छैनन् । 

गौतम निकट नेताका अनुसार विगत दुई हप्तादेखि गौतम बालुवाटारको सम्पर्कमा पनि छैनन् । २७ वैशाख दिउँसो ११ बजेतिर सरकारी निवास बालुवाटारमा बोलाएर उनले उपाध्यक्ष गौतमलाई भेटेका थिए । त्यसपछि ओली र गौतमको भेटघाट भएको छैन । गौतमको परिवारका गौतम पत्नी तुलसा, छोरो हरिस गौतम र सालो डम्बर थापा मगर केपी ओली समूहमा रहेका छन् । ओलीले गौतम पत्नी तुलसालाई २८ फागुनमा गठन गरेको महाधिवेशन आयोजक कमिटीको जम्बो केन्द्रीय कमिटीमा राखेका थिए । हरिस गौतम पनि ओली समूहकै बर्दिया जिल्ला कमिटीमा रहेका छन् । तर उनका प्रेस सहयोगी विश्वमणि सुवेदी भने नेपाल समूहतिर छन् । 

नेकपा हुँदा उनी निकटका नेताहरू बलराम बास्कोटा र उनकी पत्नी सावित्री भुसाल नेपाल समूहतिर थिए । तर उनीहरू अहिले कुन समूहमा छन् भन्ने खुलेको छैन। हरि पराजुली गौतमसँगै छन् । केशवलाल श्रेष्ठ, डिबी कार्कीले मुख खोलेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ