arrow

एकै खेलमा २१ पेनाल्टी, यसरी जित्यो भिल्लारियलले युरोपा लिग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
villarreal.jpg

काठमाडौं । खेलमा कहिलेकाहिँ यतिसम्म प्रतिस्पर्धा हुन्छ कि त्यसले रेकर्ड नै बनाइदिन्छ । अति नै प्रतिस्पर्धा हुँदा पनि त्यो नाटकीय जस्तो बनिदिन्छ । नभन्दै त्यस्तै भयो बुधबारको रात । 

युरोपा लिग फुटबलको फाइनल भइरहँदा नाटकीय जितसहित स्पेनिश टोली भिल्लारियलले क्लब इतिहासमा पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । 

२१ पेनाल्टी भएको खेलमा सडन डेथमा इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई ११–१० ले पराजित गर्दै भिल्लारियलले पहिलो उपाधि जित्न सफल भएको हो । 

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो । खेलको २९ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए । 

५५ औं मिनेटमा एडिसन काभानीले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयसम्म गोल भएन । ३० मिनेट अतिरिक्त समय थपियो । गोल भएन । 

पुग्यो टाइब्रेकरमा । टाइब्रेकरमा दुवै टोलीले शुरुआती १०–१० प्रहार गरे । सत्प्रतिशत गोल भयो । पालो आयो गोलकिपरले नै गोल गर्ने । ११ औं प्रहारमा भिल्लारियलका जेरमिनो रुल्लीले गोल गरे । तर युनाइटेडका डेविड डे गियाको प्रहार रुल्लीले बचाए । 

यसरी जित्यो नाटकीय २१ पेनाल्टीको सडन डेथमा भिल्लारियलले । 

यसअघि भिल्लारियलका लागि जेरार्ड मोरेनो, डानियल राबा, पाको अल्कासेर, रोबर्टो मोरेनो, डानियल पारेजो, मोइ गोमेज, राउल अल्बिओल, फ्रान्सिस पास्पर र पल टोरेसले पेनाल्टीमा गोल गरेका थिए । 

त्यस्तै युनाइटेडका लागि हुँवा माटा, एलेक्स टेलेस, ब्रुनो फर्नान्डेस, मार्कस रस्फोर्ड, एडिसन काभानी, फ्रेड, डानियल जेम्स, ल्युक शा, एलेक्स टुवान्जेबे र भिक्टर निल्सन लिन्डेलोफले गोल गरेका थिए । 

यो नाटकीय र रोमाञ्चक खेलमा दुवै टिमका दुई–दुई खेलाडीले पहेंलो कार्ड खाएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ