arrow

निषेधाज्ञाको वैज्ञानिक व्यवस्थापन गर्न सभापति देउवाको माग 

जनतामा हाहाकार र असुरक्षा बढाउने काम बन्द होस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
deuba--nc-congress-1.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम भएको भन्दै आपत्ति जनाएका छन् । उनले कोभिड-१९ संक्रमणलाई सरकार सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारको रुपमा मात्र प्रयोग नगर्न पनि भनेका छन् ।

विहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै सभापति देउवाले निषेधाज्ञाको वैज्ञानिक व्यवस्थापन गर्दै नागरिकका दैनिक आवश्यकताको सहज र सरल आपूर्ति सुनिश्चितता गर्न सरकारसँग माग पनि गरेका छन् ।

‘सरकारको अर्कमण्यता र उदासिनताका कारण बढेको संक्रमण रोक्न फेरि पनि सरकारले निषेधाज्ञाको साहारा लिएको साथै हचुवा गृहकार्य र कमजोर व्यवस्थापनका कारण प्रभावकारी हुन सकेको छैन, सभापति देउवाको भनाइ छ ।

नेपाली कांग्रेसले कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आएको र यही जेठ ६ गते कांग्रेस प्रतिनिधिमण्डलले महामारीबाट जनतालाई बचाउन १५ बुँदे ज्ञापन-पत्र प्रधानमन्त्रीलाई बुझाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएको स्मरण गर्दै देउवाले ज्ञापन–पत्रलाई गम्भीरताका साथ लिन माग गरेका छन् ।

साथै सभापति देउवाले कोभिड–१९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकता अनुसार आईसियु वेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गरेका छन् ।

‘देशको हरेक गाउँ/नगरपालिका र वडा तहसम्म पिसिआर परिक्षणको व्यवस्था गर्न, संक्रमण रोक्न सशक्त सचेतना अभियान संचालन गर्न,  ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकहरुलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न,  निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रविन्दुमा राखी आवश्यकता अनुसार कार्यान्वयन गर्न तथा विदेशी मित्रराष्ट्र र संघ-संस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गर्दछु । खोप लगायत स्वास्थ्य सामाग्री खरीद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि सम्बन्धित निकायहरुसँग माग गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।

जेठ १३, २०७८

कोभिड-१९ को रोकथाम, उपचार र राहतमा केन्द्रीत हुन सरकारसँग माग

नेपाली कांग्रेसले कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक-पटक खबरदारी गर्दै आएको छ । यही जेठ ६ गते पनि मेरो नेतृत्वमा नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले कोभिड–१९ को महामारीबाट जनतालाई बचाउन १५ बुँदे ज्ञापन–पत्र प्रधानमन्त्रीलाई बुझाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

नेपाली कांग्रेस आफै पनि कोभिड-१९ को रोकथाम र उपचारमा जनताका पीडाहरुलाई कम गर्न सक्रियताका साथ लागि परेको छ । तर देशको साधन स्रोत र संयन्त्रको जिम्मेवारीमा रहेको सरकारले गर्ने सम्पूर्ण काम नेपाली कांग्रेसले गर्न सक्ने कुरा भएन । सरकारको नेतृत्वको सम्पूर्ण ध्यान भने जसरी पनि सरकारमा टिकिरहनु पर्छ भन्ने मात्र भएकोले जनताका आवश्यकता र पिरमर्काहरु गौण हुन पुगेका छन् । अहिले कोभिड–१९ को संक्रमणले सिर्जना गरेको स्वास्थ्य चुनौति मात्र नभएर निषेधाज्ञाले उद्योग व्यवसाय बन्द भएर खडा गरेको वेरोजगारीका कारण रोजिरोटीको संकट पनि जटिल बन्दै गएको छ ।

संक्रमणको लहर सहरबाट ग्रामीण र दुर्गम क्षेत्रमा समेत फैलिएको छ । स्वास्थ्य पूर्वाधारको कमजोर अवस्था र सरकारको उदासिनताका कारण ग्रामीण क्षेत्रमा उपचार नभएर हाहाकार मच्चिएको छ । देशैभर खासगरी अस्पताल पहुँचको सिमितता, खोप, अक्सिजन र भेन्टिलेटरको अभावका कारण संक्रमण र मृत्युदर कम हुन सकेको छैन । सरकारको अर्कमण्यता र उदासिनताका कारण बढेको संक्रमण रोक्न फेरि पनि सरकारले निषेधाज्ञाको साहारा लिएको छ । तर निषेधाज्ञाको असर पनि हँचुवा गृहकार्य र कमजोर व्यवस्थापनका कारण प्रभावकारी हुन सकेको छैन । संक्रमण फैलन नदिने उद्देश्य प्राप्त गर्न निषेधाज्ञाको वैज्ञानिक व्यवस्थापन गर्दै नागरिकका दैनिक आवश्यकताको सहज र सरल आपूर्ति सुनिश्चितता गर्न सरकार कार्यरत हुनु पर्ने हो । तर निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम हुँदैछ । कोभिड-१९ संक्रमणलाई सरकार सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारको रुपमा प्रयोग गर्दैछ ।

वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन छ । संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिदैछ । सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु । सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरुलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँदछु । वर्तमान अवस्थामा सरकारको सम्पूर्ण ध्यान कोभिड–१९ को रोकथाम र उपचारमा केन्द्रित गर्न र निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न माग गर्दछु ।

फेरि पनि, म नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई पेश गरेको १५ वुँदे ज्ञापन-पत्रलाई गम्भीरताका साथ लिन माग गर्दछु । खासगरेर- कोभिड–१९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकता अनुसार आईसियु वेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गर्दछु । देशको हरेक गाउँ/नगरपालिका र वडा तहसम्म पिसिआर परिक्षणको व्यवस्था गर्न; संक्रमण रोक्न सशक्त सचेतना अभियान संचालन गर्न; ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकहरुलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न; निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रविन्दुमा राखी आवश्यकता अनुसार कार्यान्वयन गर्न तथा विदेशी मित्रराष्ट्र र संघ-संस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गर्दछु । खोप लगायत स्वास्थ्य सामाग्री खरीद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि सम्बन्धित निकायहरुसँग माग गर्दछु ।

जय नेपाल !

शेरबहादुर देउवा

सभापति

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ