arrow

मनकारी

नेपालीको अप्ठेरोमा सदा अग्रणी भूमिका खेल्ने प्रवासी सन्दीप

logo
सीता डोटेल, 
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
sandeep-rana-palpa-india.jpg

पाल्पा । जब नेपालमा संकट पर्छ तब नेपाल र नेपालीको भलो गर्न तत्पर देखिने पाल्पाली युवा हुन् सन्दीप राना । त्यो चाहे नेपालमा नाकाबन्दी होस् वा महाभूकम्प वा कोरोनाको कहर । राना हाजिर भइहाल्छन् आफ्नो कर्तव्यपरायणमा । 

उनै राना यतिबेला भारतमा छन् । भारतमा कोरोनाले आक्रान्त पारेको छ । तथापि रानाले नेपालमा कोरोना संक्रमण रोकथामको लागि भूमिका खेलिरहेका छन् । जन्मभूमिमा परेको समस्यामा सदैव नजिकबाट नियाल्ने रानाले कोरोना संक्रमणलाई नियन्त्रण गर्न दैनिक घण्टौं समय जिल्लाबासी नेता अगुवा तथा संघसंस्थासँग फोन सम्पर्कमा रहन्छन् । 

कोरोना संक्रमणले गाजेको नयाँदिल्लीमा अहिले पनि उनी राती १–२ बजेसम्म अफिसमै रहन्छन् । बिहान सबैरे उठेर अफिस गएसँगै आफ्नो ठाउँको लागि आफूले सक्दो सहयोग गर्नुपर्छ भन्ने ध्येय उनमा रहन्छ । 

कार्यालयको काममा दत्तचित्त हुने रानालाई नेपालबाट जाने फोनले झस्काउछ र नेपालका लागि सक्दो भुमिका खेल्छन् । गृहजिल्ला पाल्पा मात्र होइन नेपालभर स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्याउन साथै स्वास्थ्य सामग्री नेपाल पठाउन उनी सरकारी तबरमा पनि नियमित समन्वयमा रहन्छन् । 

गृह जिल्ला पाल्पाको कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहकारसमेत रहेका रानाले फाउण्डेशनको पहलमा सहर्ष भूमिका खेले र भारतमासमेत असहज परिस्थिति भइराख्दासमेत जिल्लाबासीको मायाले स्वास्थ्य सामग्री गृह जिल्ला पठाए । 

विदेशमा भए पनि हर नागरिकले सरल, सहज स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकार रहेको बताउने रानाले स्वास्थ्यकर्मी नै संक्रमणको चपेटामा परेर स्वास्थ्य सेवा दिन नसक्ने भन्दै संस्थाको अभियानलाई सफल बनाउन भारतबाट पीपीई सेट र मास्क पठाउने भूमिका खेले ।  

संस्थाले सल्लाहकार रानाको सहयोगमा त्यहाँका सामाजिक संस्थाबाट पाल्पा जिल्लामा ५ सय सेट पीपीई र ५ हजार थान मास्क ल्याएको हो । भारतमा कोरोना संक्रमणका संख्यामा त्यति ती कमी नहुनु र स्वास्थ्य सामग्रीे देश बाहिर पठाउन असहज भइरहेका बेला रानाले भारतीय दूतावास सँगको समन्वयमा गाउँ ठाउँका नागरिकको जिउधन जोगाउन जिल्लाका गाउँ गाउँमा पुर्याउने गरी स्वास्थ्य सामग्री पठाउन पहल मिलाए । 

कालीगण्डकी फाउण्डेशनले जिल्लाको तानसेन नगरपालिका पाल्पा अस्पताल, रामपुर अस्पताल, माथागढी गाउँपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका र रामपुर नगरपालिकामा स्वास्थ्यकर्मीहरुका लागि ४० देखि १०० पिससम्म पीपीई सेट र मास्क वितरण गरेको छ ।  

युुवा नेता रानाले पाल्पा जिल्लामा अक्सिजनको अभावका बेला आफ्नै खर्चमा ५० वटा अक्सिजन सिलिण्डर पाल्पा भित्र्याए । जिल्लामा अक्सिजनको अभावमा अस्पतालबाट बिरामी घर फर्काइरहेका बेला उनले पाल्पा कांग्रेसमार्फत जिल्लामा अक्सिजन उपलब्ध गराएका हुन् । युवाहरु माझ लोकप्रिय रानाले अझ पनि जिल्लामा अक्सिजन भरेर सहजता ल्याउने गरी समन्वय गरिरहेका छन् ।  

त्यसो त रानाले गत वर्षको कोभिडको समयमा पनि भारतमा अलपत्र परेका हजारौं नेपालीलाई सहयोग पुर्याएका थिए । भारतमा अलपत्र परेका नेपाली, भारत–नेपाल सीमामा अड्किएका नेपाली र जिल्लासम्म सुरक्षित पुग्न उनले भारत र नेपालका विभिन्न निकाय र साथीसँगीसँग समन्वय गर्दै नेपालीपनको आभाष ती यात्रीलाई दिलाए ।

युवा नेतासमेत रहेका रानाले गत वर्ष घर जान भन्दै हिडेर हप्तादिनसम्म लकडाउनमा परी अलपत्र परेका ६५ जना नेपालीको टोलीलाई स्थानीय सरकारसँग बस्न खानको जोहो गरे ।

भारतीय प्रहरीको रहोवरमा गाडी खोजेर उनीहरुलाई नेपालको नाकासम्म आउने प्रबन्ध मिलाए । दिनैपिच्छे भारतका चोक–चोकमा छोडिएका रुमलिएका नेपालीहरुको रक्षाको लागि उनले भारतमा महत्वपूर्ण भूमिका खेले । उनीहरुको खान र बस्न त्यहाँको स्थानीय तहमा समन्वय गरे ।

लाखौ नेपाली भारतमा रोजगारीमा छन् । भारतमा कोभिडको महामारी देखिएसँगैं घर फर्किने नेपालीहरुको तछाडमछाड हुन्छ । अवस्था दयनीय हुन्छ । तथापि समन्वयमा आउने र आफूले सम्पर्कमा भेट्ने जो कोहीलाई मरिमेटेर सहयोग गर्छन् उनी । 

पाल्पामा रानाको पहिचान फरक र लोकप्रिय छ । युवामाझ लोकप्रिय बनेका राना समय मिल्ने बित्तिकै नेपाल आउँछन् । 

यहाँका राजनीतिज्ञ, विषयविज्ञ तथा संभावनाका विषयमा जानकारहरुसँग बसेर छलफल गर्छन् । 

नेपालको राजनीतिक र भारतीय राजनीतिक विषयलाई नजिकबाट नियालेका उनी राजनीतिको नीतिबाटै देशको आर्थिक समृद्धिका लागि अबको युग लाग्नु पर्नेमा जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ