arrow

भेरी अस्पताल प्रकरणः  तीन जना पक्राउ, अनुसन्धान शुरु

घटनाले काम गर्ने वातावरण छैन् : नर्सिङ संघ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
bheri-hospital.jpg

काठमाडौं । नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणको घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

जिल्ला प्रसासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सहायक प्रजिअ शंकरबहादुर विष्टको संयोजकत्वमा घटनाको अनुसन्धानका लागि छानविन समिति बनाइएको बताए । बाँके प्रहरीले घटनामा संलग्नमध्ये तीन जनालाई पक्राउ गरी अनुसन्धानसमेत अघि बढाएको छ ।

‘घटनामा संलग्न रहेका तीन जना पक्राउ परिसकेका छन्, छानविन समिति पनि बनेको छ, घटनामा अरु कोको संलग्न थिए भन्ने पनि हेर्दै छौं, सबैलाई छानविनमा ल्याउँछौं, दोषी देखिए कारवाही हुन्छ,’ सहायक प्रजिअ उपाध्यायले हाम्राकुरासँग भने ।

बाँके प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा दाङ तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावत पक्राउ परेका छन् ।

बिहीबार राती अस्पतालमा उपचाररत ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका आफन्त लगायतले भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सहरुमाथि आक्रमण गरेका थिए ।

सहकर्मीमाथि हातपात र कुटपिट भएपछि स्वास्थ्यकर्मीहरु भने आन्दोलित भएका छन् । आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको छ । स्वास्थ्यकर्मीहरुले दोषीलाई कारबाही नहुँदासम्म काममा नफर्कने अडान लिइरहेका छन् ।

घट्ना के हो ? 

अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन् । गत जेठ ४ गते अस्पतालमा भर्ना हुनुभएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।

उनका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन् ।

मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो । बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको उनको भनाइ छ । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड गरेका थिए ।

ड्युटीमा खटिएका बेला आफूमाथि हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको अस्पतालका नर्सिङ अधिकृत शीला शर्माले जानकारी दिए ।

घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् । घटनालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेको थियो । अस्पतालमा कार्यरत नर्सहरूले सुरक्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कारवाही हुनुपर्ने माग राखेका छन् ।

नेपाल नर्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृङ्खलाबद्धरूपमा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको बताउँदै घटनामा संलग्न दोषीमाथि कारवाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ