arrow

भेरी अस्पताल घटनामा संलग्नलाई कारबाही गर्न सिडिओलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
ishwor-pokharel.jpg
फाइल तस्बिर

काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री पोखरेलले आज बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी दोषीहरूमाथि हदैसम्मको कारबाही गर्न निर्देशन दिएका हुन्।

महामारीको बेला जनताको जीवन रक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘अप्रिय, अमानवीय र गम्भीर अपराध’ भएको बताउँदै उपप्रधानमन्त्रीले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन पनि दिए। उनले यस घटनालाई सरकारले गम्भीर र संवेदनशील रूपमा लिएको पनि बताए। 

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले घटनामा संलग्न तीन जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तरगत कारबाही सुरु गरिएको उपप्रधानमन्त्री पोखरेललाई जानकारी दिए।

घटना लगत्तै सुरक्षाकर्मीलाई पठाएर स्वास्थ्यकर्मीहरूलाई सुरक्षा दिएको र उपचार कार्य जारी राखिएको जानकारी दिँदै उनले घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको बताए।

१० दिनअघि भर्ना भएका बिरामीको बिहीबार राति निधन भएपछि कुरुवाले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए।



नयाँ