arrow

सात संक्रमितले अक्सिजन नहुँदा गुमाए ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
oxygen-122.jpg

कास्की । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठुलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ ।

 पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राति ९  देखि १०  बजेको अवधिमा अक्सिजन आपूर्ति पूर्णरुपमा बन्द हुँदा उच्च गति (हाइफ्लो) अक्सिजनको सहायता र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीले ज्यान गुमाएका हुन् । 

 बिहीबार रातिदेखि शुक्रवार बिहानसम्म अस्पतालको मेडिकल आइसोलेसनमा पाँच र डी क्यान्टिन आइसोलेसनमा दुई गरी सात सङ्क्रमितको निधन भएको अस्पतालको मेडिकल आइसोलेसनका फोकल पर्सन डा डेबिट श्रेष्ठले जानकारी दिए । 

 तनहुँकी सुत्केरी यही जेठ ५ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि ९ गते अस्पताल भर्ना भएकी थिइन् । उनको अस्पतालमा शल्यक्रिया विधिबाट सुत्केरी गराइएकामा अक्सिजन सहायतामा उपचार भइरहेकामा हिजो निधन भएको बताइएको छ । 

 डा श्रेष्ठले भने, “प्लान्टमा उत्पादन कम भएर हो कि किन हो हिजो दिउँसो ४  बजेदेखि नै अक्सिजन आउने रोकिने भइरहेको थियो, समयमा अक्सिजन नआउँदा हामीले सेन्ट्रल लाइनमा जोड्न सकेनौँ, राति ९  देखि १०  बजेसम्म पुरै बन्द भयो, हाइफलो र भेन्टिलेटरमा बसेका बिरामीलाई आधा घण्टा वा एक घण्टा अक्सिजन नहुँदा अवस्था के होला ?”

 प्रदेशको ठुलो सरकारी अस्पताल भए पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालले पोखरा अक्सिजन ग्यास प्रालिसँग अक्सिजन आपूर्तिको सम्झौता गरेको छ । 

 पछिल्लो समय अस्पतालमा कोभिडका बिरामी बढेसँगै अस्पतालको माग पनि उच्च छ । हाइफ्लोका बिरामीलाई अलिकति पनि अक्सिजन कमी हुने बित्तिकै समस्या हुने चिकित्सक बताउँछन् । अस्पतालमा पटक पटक अक्सिजन आपूर्ति व्यवस्थापनमा समस्या देखिँदै आएको बताइन्छ । हालको अवस्थामा अस्पतालमा न्यूनतम २५० देखि ३५० सिलिन्डर आवश्यक पर्ने अस्पतालले जनाएको छ । पोखरामा रहेका दुई अक्सिजन कम्पनीले प्रदेशमा अक्सिजन आपूर्ति गर्दै आएका छन् । 

कोरोना सङ्क्रमित बढेसँगै सरकारले पश्चिमाञ्चल अस्पताललार्ई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको सो निर्णयसँगै अस्पताल प्रशासनले कोभिड ओपिडी बाहेकका अन्य सबै ओपिडी सेवा बन्द गरेको छ । हाल ७० शय्यामा कोरोनाका बिरामीको उपचार हुँदै आएकामा अस्पतालका ४०० हाराहारी शय्यामा नै कोरोना उपचार गर्ने तयारी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ