arrow

वानका अध्यक्ष न्यौपानेको निधन, महासचिव अधिकारीद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
chandra-neupane.jpg

पोखरा । व्यावसायिक रेडियो प्रसारकहरूको संस्था  ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) का अध्यक्ष तथा सरकारी विज्ञापन प्राधिकरण सदस्य चन्द्र न्यौपानेको कोरोना सङ्क्रमणबाट निधन भएको छ । 

न्यौपाने इटहरीस्थित सप्तकोसी एफएमका स्टेसन म्यानेजर पनि हुन् । मोरङको बुढीगंगा गाउँपालिका–२, टङ्कीस्थित विराट मेडिकल कलेजको कोभिड अस्पतालमा २८ वैशाखदेखि उपचार गराइरहेका ५० वर्षीय न्यौपानेको शुक्रवार बिहान साढे ८ बजे निधन भएको अस्पतालका कोभिड फोकलपर्सन सुनिल देवले जानकारी दिए ।

अस्पतालका अनुसार कोरोना सङ्क्रमणबाट सिकिस्त भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।  

यसैबीच वानका महासचिव दुर्गा अधिकारीले अध्यक्ष न्यौपानेको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । उनले एक शोक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष न्यौपानेको निधनले संस्थालाई अपूरणीय क्षति पुगेको र आफू र सिंगो संस्था निकै मर्माहत र स्तब्ध भएको उल्लेख गरिन् । 
महासचिव अधिकारीले अध्यक्ष न्यौपानेको निधनको शोकमा संस्थामा आबद्ध सबै रेडियोले दुई मिनेट शोक धुन् बजाउने, तीन दिन केन्द्रीय कार्यालय बन्द हुने जानकारी दिइन् । 

यसै गरी नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पनि वानका अध्यक्ष न्यौपानेको अल्पायुमै भएको अकल्पनीय निधनप्रति दुःख व्यक्त गरेकी छन् । 
उनले न्यौपानेको निधनले वानलाई मात्रै होइन सिंगो रेडियो आन्दोलन र पत्रकारिता जगतलाई नै अपूरणीय क्षति पुगेको बताइन् । अध्यक्ष भण्डारीले न्यौपानेको शोक सन्तप्त सिंगो परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ