- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। जनता समाजवादी पार्टीको विवाद रोचक मोडमा पुगेको छ। शनिवार बिहान उपेन्द्र यादवले महन्थ ठाकुरलाई दोस्रो पटक स्पष्टीकरण पठाए। दोस्रो पटक पठाइएको स्पष्टीकरणको म्याद २४ घण्टा दिइयो। दोस्रो पटक पनि स्पष्टीकरण नदिए या स्पष्टीकरण चित्तबुझ्दो नभए पार्टीबाट निष्कासित गर्ने चेतावनी यादवले दिए।
ठाकुर पनि के कम। उपेन्द्र यादवले स्पष्टीकरण पठाएको चिठी सार्वजनिक हुने बित्तिकै ठाकुरले पनि उपेन्द्रलाई दोस्रो पटक स्पष्टीकरण सोधे। उनले पनि यादवले झैँ २४घण्टाको समय दिए। उपेन्द्रले भने झैँ दोस्रो पटक स्पष्टीकरण नदिए पार्टीबाट निष्कासित हुने धम्की ठाकुरले दिए।
ठाकुरले यादवलाई र यादवले ठाकुरलाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो। यसअघि जेठ ११ गते दुवै पक्षले स्पष्टीकरण सोधेका थिए। पहिलो स्पष्टीकरण ३ दिन कोलागि सोधिएको थियो।
दुवै स्पष्टीकरणको ब्यहोरा एउटै प्रकृतिको छ। उपेन्द्रलाई सोधिएको स्पष्टीकरणमा महन्थले आफै हस्ताक्षर गरेका छन् भने महन्थलाई सोधिएको स्पष्टीकरणमा कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेका छन्।
उपेन्द्रले महन्थलाई बाहेक राजेन्द्र महतो, सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पनि स्पष्टीकरण सोधेका छन्। दुवै पक्षले स्पष्टीकरणको जवाफ नदिने भएका छन्। यो भनेको पार्टी फट्कोलागि सुरु गरिएको प्रारम्भिक प्रक्रिया हो।
कार्यकारिणी समितिमा बहुमत पुग्न दुवै पक्षले प्रयास गरेका छन्। अहिलेसम्म कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्ष बहुमतमा छ। तर उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका केही सदस्यहरूलाई आफूतिर ल्याउन ठाकुर पक्ष सक्रिय छ।