arrow

कोरोना सङ्क्रमित पत्रकारलाई आयुर्वेदिक औषधि हस्तान्तरण

logo
हरि पन्त,
प्रकाशित २०७८ जेठ १६ आइतबार
Aayurbed-medicine-corona-po.jpg

पोखरा । नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ गण्डकी प्रदेशले नेपाल पत्रकार महासङ्घ कास्कीलाई आयुर्वेदिक औषधि हस्तान्तरण गरेको छ । सङ्घद्वारा गठित स्वयंसेवक उपसमितिले महासङ्घका सचिव माधव बराललाई उक्त औषधि हस्तान्तरण गरेको हो । 

उक्त औषधि महासंघमा आबद्ध रहेका १२ जना कोरोना सङ्क्रमित पत्रकारलाई प्रदान गरिने महासङ्घका सचिव बरालले जानकारी दिए । औषधि स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड १९ को प्रोटोकल अनुसारको रहेको बताइन्छ । 

संघका उपसमिति संयोजक कृष्ण राउतले अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अति विपन्न नागरिकका लागि आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिने जानकारी दिए । 

रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने गुण भएका गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णको मिश्रणबाट तयार गरिएको आयुर्वेद औषधि हस्तान्तरण गरिएको हो । 

महासङ्घका सचिव बरालले औषधि सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै पत्रकारहरूको स्वास्थ्य अवस्थालाई ध्यान दिएकोमा खुशी लागेको बताए ।

अभियान अन्तर्गत ११ वटै जिल्लाका सङ्क्रमित भएका पत्रकारहरूलाई आयुर्वेदिक औषधि उपलब्ध गराइने राउतले बताए ।जसअनुसार पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदीसँग छलफल भएको उनले बताए ।

अभियानलाई विस्तार र व्यापक बनाउन उपसमितिले गण्डकीका ११ वटै जिल्लामा आयुर्वेदिक औषधि वितरण गर्ने लक्ष्य लिएको छ । 

जसका लागि प्रदेश सरकार, जिल्ला प्रशासन, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्थानीय तहमार्फत समन्वय भइरहेको सङ्घका अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए । 

प्रदेशका अति विपन्न नागरिकहरूलाई औषधि वितरणका लागि सम्बन्धित स्थानीय तहको वडाबाट सिफारिस÷ जानकारी अनुसार स्वयंसेवक टोलीले औषधि सङ्क्रमितकै हातहातमा पुर्‍याइने अध्यक्ष पौडेलले बताए । 

साथै, सङ्क्रमितहरूको स्वास्थ्य अवस्था र मनोबल मजबुत बनाउनका लागि स्वास्थ्य परामर्श सेवासमेत सञ्चालन गर्ने भएको छ । प्रदेश सङ्घका सचिवसमेत रहेका डा. दीपक भुसालको संयोजकत्वमा गठित आयुर्वेद चिकित्सकीय परामर्श सेवा उपसमितिले उक्त सेवा सञ्चालन गर्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ