arrow

देशको मौसम: भारी वर्षा खासै छैन, हल्कादेखि मध्यम वर्षा ठाउँ ठाउँमा भइरहन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
weather.jpg

काठमाडौं। नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँ ठाउँमा क्षति पुर्‍याएको भए पनि आजदेखि त्यो क्रम भने घट्दो रहेको छ । यद्यपि हल्कादेखि मध्यम वर्षा भने कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । “भारी वर्षा खासै छैन, हल्कादेखि मध्यम वर्षा ठाउँ ठाउँमा भइरहन्छ”, उनले थपे, “तर मौसम सुध्रने क्रममा छ ।”

अहिले पनि काठमाडौँको केही भेगसहित उपत्यकाको पूर्व क्षेत्रमा वर्षा भइरहेको छ । यस्तै प्रदेश १ र वाग्मती प्रदेशका केही भूभागमा पनि पानी परिरहेको छ । काठमाडौँ केही क्षेत्रमा पानी पर्ने र केही क्षेत्रमा नपर्ने अवस्था देखिएको छ । दिउँसो भने खुलेको थियो । पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मौसम बदली भइरहेको हो । यसअघि बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’को प्रभाव कमजोर भएको छ । तर सामान्य असर बाँकी नै छ । 

आगामी तीन दिन मौसममा बदली भने कायम रहेको अर्यालले जानकारी दिए। पहाडी भू–भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मतीका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मध्यमसम्म पानी पर्ने जनाइएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मतीका थोरै स्थानमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । मङ्गलवार भने देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । 



नयाँ